जनताले अब सोच्नुपर्ने बेला अायो !

इभा राजवाहक, साउन ९ । काठमाडौं उपत्यकाको सडकहरु दिनानुदिन  झनझन  अस्तव्यस्त बन्दै गइरहेका छन् । अझ भन्नुपर्दा, कार्यालय सुरु हुने समय र समाप्त हुने समयमा गाडीको चाप थेगिनसक्नु हुने गर्दछ । जसकारण समयमा घरमा पुग्न होस् या कार्यालय पुग्न होस्, आम जनताले सास्ती भोग्नु परिरहेको छ ।

कहिले बाटोका कारण, कहिले दुर्घटनाका कारण सडकमा घण्टौं जाम भइदिनु आम सर्वसाधारणको लागि दैनिकी जस्तै बनिसक्यो ।

सडक निर्माणको नाममा होस् या पाइप बिछ्याउने या अन्य विकास निर्माणको कामको बहानामा चोक र गल्लीहरुमा बाटो भत्काइँदाको परिणामस्वरूप वर्षायाममा सर्वसाधारणले निकै सास्ती भोग्नु परिरहेको छ । त्यसमाथि पनि छोटो दूरीका लागि गाडी चढेपछि पनि घण्टौंसम्म जाममा फस्नुपर्ने बाध्यता आम काठमाडौँबासीहरूको नियति भइसकेको छ ।

कहिले बाटोका कारण, कहिले दुर्घटनाका कारण सडकमा घण्टौं जाम भइदिनु आम सर्वसाधारणको लागि दैनिकी जस्तै बनिसक्यो । गन्तब्यमा समयमै पुग्नका लागि घरबाटै घण्टा-दुई घण्टा अगावै घरबाट हिँड्नुको विकल्प नरहेका हामी काठमाडौँवासीहरूले खेप्नु परिरहेका समस्याहरू भनि साध्य छैनन् ।

हुन त यातायात व्यवस्थापनको लागि चोक–चोकमा ट्राफिक प्रहरी बसेका हुन्छन् तर उनीहरूले उपस्थिति पनि सार्थक हुनसकेको भने देखिँदैन । अवैज्ञानिक ट्राफिक व्यवस्स्थापनले गर्दा सडकमा चालकबाट गलत्ती भएका खण्डमा त्यहीँनेर सवारीसाधन रोक्न लगाएर पुर्जी काट्न थाल्दा यसले सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई अवरोध पुग्ने र यसले ट्राफिक जामको समस्या सुल्झिनुको साटो झनै बल्झिदै गैरहेको छ ।

हुन त सडकहरू फराकिला पारिएका छन्, नयाँ नयाँ बाटाहरू खोलिएका छन् र सडकको बिस्तार समेत गरिएको छ । यो सबै ट्राफिक जाम कम गर्नकै लागि हो तर समस्या भने ज्युँका त्यूँ छ ।  सडकमा जुन अनुपातमा विस्तार हुँदैछ त्योभन्दा कयौं गुणा तीव्र गतिले त्यहाँ नयाँ यातायातका साधनहरु थपिइरहेका छन् । तर पुराना सवारी साधनको नै उचित व्यवस्थापन हुन नसकेको अवस्थामा यसरी थपिएका सवारी साधनहरूले समस्या मात्रै निम्त्याएका रहेकाछन् ।

यसमा ध्यान कसले दिने ? दुई छाक टार्नकै लागि दौडधूप गरिराख्ने  सर्वसाधारणले या आफ्ना छोराछोरीका लागि विदेशको सपना देखिराख्ने सरकारमा बसेका व्यक्तिहरू र कर्मचारीहरूले या यस सहरलाई व्यापारको कर्मभूमि बनाइरहेका साहुमहाजनहरूले ? प्रश्न अनुत्तरित छ ।

हुन त सडकहरू फराकिला पारिएका छन्, नयाँ नयाँ बाटाहरू खोलिएका छन् र सडकको बिस्तार समेत गरिएको छ । यो सबै ट्राफिक जाम कम गर्नकै लागि हो तर समस्या भने ज्युँका त्यूँ छ ।

यातायात व्यवस्थापनको एउटा ठुलो समस्या सार्वजनिक यातायातका साधनहरूभित्र थामिनसक्नुको भीड पनि हो । सार्वजनिक बस चढ्ने व्यक्ति सबै बलियाबाङ्गा र युवा मात्र हुँदैनन् । बस चढ्न संघर्ष गरिरहेका बुढाबुढी, बच्चा, शारीरिक रूपमा अशक्त व्यक्तिहरूले भोग्नु परिरहेका सास्तीहरूको बयान गरिसाध्य छैन ।

हुन त ट्राफिक जामले निजी सवारी साधन हुनेलाई नपिरोल्ने भन्ने हुँदैन तर उनीहरूसँग कतिपय अवस्थामा वैकल्पिक मार्ग प्रयोग गर्ने अवसर रहेको हुन्छ तर सार्वजनिक सवारीसाधनले अनुमतिबिना वैकल्पिक बाटो प्रयोग गर्न नसक्ने हुनाले ती साधनहरूमा यात्रा गर्नेहरूले सडक अवरोध भएका खण्डमा नपर्खी धर पाउँदैनन् ।

बाटाहरू फराकिला होउन्, सबैले बेलैमा सकुशल घर पुग्ने सुविधा प्राप्त गरुन् त्यसको प्रत्याभूति जनताबाट चुनिएका प्रतिनिधिहरूले गर्न सक्नु पर्दछ । बेलैमा सडक विस्तारको काम सम्पन्न नभइदिँदा आधा भत्काइएका संरचनाहरू र बाटो छेउछाउ थुपारिएका निर्माण सामग्रीले सडकको सहजतालाई असहजतामा परिणत गरिदिएका छन् ।

विशेष गरेर चुनावमा आउँदा विभिन्न प्रकारका आश्वासन जनतालाई दिएर चुनाव जितिसकेपछि फर्केर नआउने या आएपनि यस्ता समस्याप्रति उदासीन भइदिने प्रवृत्तिले आम जनतालाई निराश मात्र बनाएको छ ।

बाटाहरू फराकिला होउन्, सबैले बेलैमा सकुशल घर पुग्ने सुविधा प्राप्त गरुन् त्यसको प्रत्याभूति जनताबाट चुनिएका प्रतिनिधिहरूले गर्न सक्नु पर्दछ ।

हामी प्रविधिको चरम विकास भएको एक्काइसौँ शताब्दीक विश्व नागरिक हौँ तर आज पनि राजधानीमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न लाग्ने समय हेर्ने हो भने कता कता अठारौँ शताब्दीको झल्को दिइराखेको हुन्छ ।

हाम्रा नेताहरूले देश विदेश गुमेका छन् । कुरा बुझेका छन् । तर उनीहरूले देशको समृद्धिका लागि प्रस्तुत गरेका सबै खाकाहरू बकम्फुसे गफजस्ता मात्र देखिन्छन् । उनीहरू प्रत्येक पांच वर्षमा फर्कीफर्की जनताको घरदैलोमा भोट माग्न आइपुग्छन् र जनताले पालोपालो सबैलाई आफ्नो मत दिएर लाभ पुऱ्याएकै हुन्छन् ।

यसरी नेताहरूलाई पालो पालो गरेर अनुमोदन गरिरहने तर उनीहरूलाई बेलाबेला खबरदारी गर्न नसक्ने हामीहरू समस्या आइलाग्दा भने आफ्नो निधार ठोक्ने र एकअर्कासँग गुनासो गरेर नै क्षोभ शान्त पार्ने गर्दछौं । यस्ता समस्याहरूको समाधानका लागि कसले पहल गर्ने र कुन निकायमा गएर कसले र कसरी खबरदारी गर्ने हो यसबारे बेलैमा सचेत हुनु आवश्यक छ ।

कमेन्ट गर्नुहोस्