डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, वार्ता अझै निष्कर्षबिहिन

काठमाडौं, साउन ९ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै गएको असार १६ गतेदेखि आमरण अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य निकै कमजोर भएको बताइएको छ । डा केसी २६ दिनदेखि अनशनरत छन् र यो उनको १५ औं पटकको अनशन हो ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला जे पनि हुन सक्ने बताएका हुन् ।

डा केसीको स्वास्थ्य जाँचमा संलग्न चिकित्सकहरुले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज उहाँको रगतमा सुगरको मात्रा पनि धेरै कम भएको देखिएको छ । रगतमा चाहिने पोल्सियम तत्व पनि न्यून छ । यसले गर्दा कुनैपनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ ।’

‘उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ’ विज्ञप्तिमा उल्लेख छ । जुम्लामा अनशनरत डा केसीलाई आइसीयू नभएको र उपचारमा समस्या आउने भन्दै गएको बिहीबार सरकारले बल प्रयोग गरि काठमाडौं ल्याएको थियो ।

तर नत डा केसी आइसीयूमा बसेका छन् । नत सरकारले समस्या समाधानका लागि गम्भीर पहल गरेको छ । लामो समय रगत परीक्षण गर्नसमेत नदिएका केसीले आमाको आग्रहपछि मंगलबार रतग परीक्षण गर्न सहमत भएका थिए ।

यसअघि काठमाडौं नआएसम्म वार्ता नगर्ने अडानमा रहेको सरकार त्यसबाट पछि हटेपनि लामो अन्यौलता तोड्दै मंगलबार र बुधबार डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता भएपनि त्यो निष्कर्षबिहिन भएको छ । स्रोतका अनुसार डा केसीले संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकका २५ बुँदामा संशोधनका लागि प्रस्ताव गरेपनि अहिलसम्म गहन रुपमा विधेयकमाथि छलफलै हुन नसकेको बताइएको छ ।

डा केसीका माग सम्बोधनका लागि भन्दै नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङको पहलमा माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बुधबार बिहान छलफल भएको थियो । त्यसपछि दुर्इ पक्षबीच वार्ता भएपनि कुनै निकास भने निस्किएकाे छैन ।

कमेन्ट गर्नुहोस्