मोडलिङमा जम्दै सुन्दर

लोकेश धामी, काठमाडौँ । सुन्दर बोहराको जन्म जुन ठाउँमा भयो त्यहाँ मोडलिङमा प्रवेश गरेका कोही छैनन् । सायद उनी भिडियोमा नृत्य गर्ने गाउँकै पहिलो युवा हुन् । उनको चर्चा अहिले गाउँभरी मात्र नभएर विभिन्न ठाउँमा छ । चर्चा हुनुको प्रमुख कारण अहिले उनी एकपछि अर्को गीतमा देखिन थालेकैले हो ।


सुन्दरको जन्म बझाङको सुन्दर ठाउँ तर भौगोलिक हिसावले विकट साविकको लेकगाउँ गाविस ७ बुडखोरीमा भएको हो । उनको बाल्यकाल त्यहिँकै धूलोमाटोमा वित्यो । त्यहि अध्ययन गरे । त्यहिँकै स्थानीयसँग रमे । तर अहिले उनी गाउँमा छैनन् । गाउँमा नहुनुको मुख्य कारण हो अहिले उनी अर्कै दुनियाँमा छन् । त्यो दुनियाँको नाम हो गीतसंगीत । सुन्दर गीतसंगीतमा रम्दै छन् ।


उनी अहिले आफूलाई एक मोडलको रुपमा नाम चिनाउँदै छन् । हुनत सुन्दरलाई यो क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर चर्चा भने उनले सोचेभन्दा बढि पाएका छन् । उनका दिनहुँ नयाँ साथी तथा प्रशंसक बढ्दै छन् । तपाइको आवागमन यो क्षेत्रमा कसरी भयो ? उनी भन्छन्, ‘म सानैदेखि गीतसंगीतमा रुचि राख्थे, गाउँमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थे, साथै, स्कुलमा विभिन्न क्रियाकलापमा सहभागिता जनाउँथे त्यहिँबाट यो क्षेत्रमा प्रवेश गर्ने हुटहुटी जाग्यो ।’

सुन्दरले मोडलिङ गरेको पहिलो गीत-

‘मचाइ दे पातली धूम ’ गीतमा आवाज, रचना तथा संगीत उमाशंकर जोशीको रहेको छ, भने सम्पादन मिलन बिकको रहेको छ । यस्तै, भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् ।

सुन्दरले १० कक्षासम्म गाउँकै स्कूलमा अध्ययन गरे । उच्च शिक्षा हासिल गर्न भने उनी धनगढी झरे । उनको सपना पढाइसँगै नृत्य सिक्ने थियो । उनले आफ्नो सपनाको खुट्कीलोमा उक्लिने प्रयास गरे । यो प्रयास भनेको उनी नृत्य सिक्ने क्लबमा जोडिनु हो । उनले धनगढीको एक डान्स क्लबमा नृत्य सिक्न भर्ना गरे । सुन्दरले ४ महिना त्यहिँ डान्स क्लबमा नृत्य सिके । ४ महिनाको अवधिमा उनमा नृत्यबारे धेरै कुरा थाह भयो ।

गाउँमा छँदा खासै नृत्यबारे ज्ञान नभएका सुन्दरलाई क्लब भर्ना गरेपछि भने धेरै कुरा थाह भयो । उनी भन्छन्, ‘डान्स क्लास लिनु अघि मलाई त्यति डान्स आउँदैनथ्यो । तर क्लास लगेपछि भने आफूलाई निकै फरक पाए ।’ नृत्य सिक्ने बेला नै उनले विभिन्न ठाउँबाट गीतमा मोडलिङका लागि अवसर पाएका थिए । तर, त्यतिबेला कोर्स पूरा नभएकाले अवसरलाई ग्रहण नगरेको सुन्दरले बताए ।

सुन्दरले मोडलिङ गरेको दोस्रो गीत-

सुन्दरले मोडलिङ गरेको दोस्रो गीत  ‘नक्कलेनक्कले’सुन्दरका अलवा आरुसा, अनिल राजुले पनि नृत्य गरेका छन् । यो गीतमा उमाशंकर जोशी र आरुसा पुडासैनीको आवाज छ भने, शब्द र संगीत गायक जोशीकै छ । यस्तै भिडियो सम्पादन शक्ति घिमिरेले गरेका हुन्, भने निर्देशन प्रवीन थापाले गरेका छन् । गीतको एरेन्ज भने राकेश सोनीले गरेका हुन् ।

अहिले सुन्दर डान्स कोर्स पूरा गरेर विभिन्न म्यूजिक भिडियामा देखिएका छन् । उनले मोडलिङ गरेको पहिलो म्यूजिक भिडियो ‘मचाइ दे पातली धूम’ हो । सो गीतबाट नै उनी मोडलिङको यात्रामा अगाडि बढेका हुन् । उनले पहिलो गीतमा मुख्य भूमिकामा देखिन नपाए पनि प्रतिक्रिया भने राम्रो पाएको बताए । उनले भने, ‘मेरो सपनाको ढोका खुलेको नै सो गीतले हो । उक्त गीतमा मुख्य भूमिका नपाए पनि साथीहरुको सुझाव र हौसला भने पाए ।’


अहिलेसम्म उनले चार गीतमा मोडलिङ गरेका छन् । ‘मचाइदे पातली धूम’, ‘नक्कलेनक्कले’, ‘आँखा मार्ने’ र हालै बजारमा आएको चर्चित गायक टंक तिमिल्सिनाको आवाजमा रहेको तीज गीत ‘हे प्रभु सरकार’ मा सुन्दरले मोडलिङ गरेका छन् । केही दिनअघि बजारमा आएको तीज गीत ‘हे प्रभु सरकार’ मा उनले मुख्य भूमिका निर्वाह गरेका छन् । अहिले उनलाई एकपछि अर्को अवसर आइरहेको छन् । गीतमा मोडलिङका लागि अवसर आउन थालेको सुन्दरले बताए । उनले भने, ‘केही गीतमा मोडलिङ गरेको देखेर अहिले नयाँ ठाउँबाट पनि मोडलिङका लागि अवसर आइरहेको छ ।’

 

सुन्दरले मोडलिङ गरेको तेस्रो गीत हेर्न यहाँ क्लिक गर्नुस्-

सुन्दरले मोडलिङ गरेको तेस्रो गीत  ‘आँखा मार्ने’ मा पनि उमाशंकर जोशीको आवाज, शब्द र संगीत छ । यस्तै भिडियो सम्पादन शक्ति घिमिरेले गरेका हुन्, भने निर्देशन प्रवीन थापाले गरेका छन् ।

सुन्दरको योजना अब यहि क्षेत्रमा आवद्ध हुने छ । सुन्दरले आफ्नो आगामि योजनाबारे भने, ‘म अब मोडलिङकै क्षेत्रमा सक्रिय हुन्छ, मेरो सपना भनेकै यहि क्षेत्रमा आवद्ध भएर केही गर्ने छ । साथै, मेरो अन्य कामलाई पनि निरन्तरता दिने छु ।’


अहिले उनले चिटीक्कको शरीर बनाएका छन्, लुक्स पनि मोडलिङमा फिट हुने छ, नृत्य सिकेका छन् । तर जति स्थान दिनुपर्ने हो त्यति नदिएकोमा सुन्दरको अहिले गुनासो छ । उनी भन्छन्, ‘आफूसँग कला छ भने पनि ठाउँ पाउन गाह्रो छ, जसको आफन्त यो लाइनमा छ उसले छिट्टै अवसर पाउँछन्, जसको छैन उसले निकै कष्ट बेहोर्नु पर्छ ।’

सुन्दरले मोडलिङ गरेको चौथो गीत हेर्न यहाँ क्लिक गर्नुस्

सुन्दरले मोडलिङ गरेको चौथो तीज गीत हो ।  ‘हे प्रभु सरकार’ बोलको यो गीतमा अहिलेका चर्चित गायक टंक तिमिल्सिना र सीता खड्काको स्वर रहेको छ । गीतमा शब्द र संगीत गायिक स्वयम् खड्काकै छ । यस्तै, म्यूजिक भिडियोको सम्पादन सतिश सिन्हाले गरेका हुन्, भने निर्देशन चक्रदेव अवस्थीले गरेका छन् ।


सुन्दरले अझैं आफू सिक्ने क्रममा रहेकाले विस्तार आफूमा सुधार हुँदै गइरहेको पाएको बताए । ‘सुरुको गीतमा मोडलिङ गर्नुमा र अहिले निकै भिन्नता आएको महसुस पाएको छु’ उनले भने । अहिले गाउँमा जाँदा सुन्दरको खोजी निके हुन्छ । साँस्कृतिक कार्यक्रम भयो भने सबैभन्दा पहिले उनको खोजी हुन थालेको छ । थुप्रै मेलामहोत्सवमा सुन्दरले आफ्ना प्रस्तुती देखाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्