भरतपुरमा सिटीहल निर्माण प्रक्रिया अन्तिमचरण : प्रमुख रेणु

चितवन, साउन १० । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ ।

शहरी विकास मन्त्रालयले सिटीहल निर्माणका लागि बजेटसमेत छुट्याइसकेको छ । महानगर प्रमुख रेणु दाहालले जग्गा टुंगिएलगत्तै सिटिहल निर्माणको काम थालिने बताइन ।

महानगरले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाहा जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने तयारी भइरहेको उनले बताइन ।

नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटीहल निर्माण गरिने जस्मा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरु सानाहल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहने महानगर प्रमुख दाहालको भनाइ थियो ।

शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले बिभागले सिटीहलका लागि रु ५० करोड छुट्याएपनि जग्गाप्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नसकिएको बताइन।

“गत आर्थिक वर्षमा काम थाल्नका लागि रु पाँच लाख विनियोजन गरेका थियौँ । जग्गाको अभावमा काम शुरु हुन सकेन ।” उनले भने, “जग्गा प्राप्त भएसँगै माटो परीक्षण गरेर नक्साङ्कनको काम अघि बढाउँछौँ ।” सिटीहलको स्वरुप र लागतका बारेमा विस्तृत अध्ययन गरेपछि थाहा हुने र यसका लागि आवश्यक रकम विभागबाट प्राप्त हुने भएकाले बजेटमा समस्या नहुने उनको भनाइ थियो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गरेको जग्गा ७५ बिगाहा १० धुर जमिन छ । यता नेपाली काँग्रेसको चितवनले शाखाले भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने भन्दै सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई सुझाव दिएको छ ।

कमेन्ट गर्नुहोस्