राजनीतिमा आउनुअघि एक भोट नहालेका इमरानलाई कसरी विश्वास गरे पाकिस्तानी जनताले ?

करीब दुई दशक क्रिकेटको दुनियाँमा राज गरेका इमरान खानले खेल जीवनबाट सन्यास लिएपछि २२ वर्षअघि राजनीतिमा कदम राखेका थिए । अहिलेकाे अाम निर्वाचनमा पछिल्लाे अपडेट अनुसार, उनकाे पार्टीले ११९ सिटमा जित हासिल गरेकाे छ । तर, याे सफलतासम्म अाइपुग्न खानलार्इ ठूलाे पापड पेल्नु पर्याे ।

सन् १९९६ मा पाकिस्तानको राजनीतिमा उत्रिएर उनले (तहरिक–ए–इन्साफ) पार्टीको स्थापना गरे । तर, एक वर्षपछि भएको आम निर्वाचनमा उनको पार्टीले कुनै पनि सिट जित्न सकेन । सन् २००२ देखि २००७ सम्म उनले राष्ट्रिय सभामा मियांवाली निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरे ।

राजनीतिमा लागेको लामो समयसम्म पनि त्यहाँका मिडिया र अन्य विपक्षीले इमरान खानलार्इ गम्भीरतापूर्वक लिएनन् । खानले सन् १९९९ मा जनरल परवेज मुसर्रफको सैन्य कूको समर्थन गरेका थिए । पछि २००२ को आम निर्वाचनमा फेरि उनले मुसर्रफको कार्यशैली प्रति आपत्ति जनाउँदै आफ्नो समर्थन फिर्ता लिए ।

सन् २००२ मा इमरानको पार्टीले केवल ०.८ प्रतिशत भोट प्राप्त गर्यो भने २७२ मध्ये जम्मा १ सिट मात्रै जित्न सफल भयो । त्यतिखेर इमरान आफैं मियांवली निर्वाचन क्षेत्रको एनए–७१ बाट विजयी भएका थिए ।

सांसदका रुपमा इमरान कश्मीर र लोकलेखाको स्थायी समितिको सदस्य रहेर काम गरे । ३ नोभेम्बर २००७ मा राष्ट्रपति मुसर्रफले पाकिस्तानमा संकटकाल घोषणा गरे । यस घटनालाई लिएर इमरानले मुसर्रफलाई मृत्युदण्ड दिनुपर्ने प्रतिक्रिया दिए । सरकारको विरोध गरेकोले उनी आफ्नै घरमा नजरबन्दमा परे ।

इमरानमाथि आतंकवाद अधिनियम अन्तर्गत आरोप लाग्यो । उनलाई डेरा गाजी खान जेलमा राखियो, जहाँ उनलाई पारिवारिक सदस्यहरुसँग मात्रै भेट्ने अनुमति थियो ।

उनले जेलमा नै भोक हड्ताल सुरु गरे । पछि २१ नोभेम्बरमा उनलाई राजनीतिक कैदीहरुको साथमा रिहा गरियो । फेब्रुअरी २००८ मा उनको पार्टीले चुनाव बहिष्कार गर्‍यो । मार्च २००९ मा इमरान एकपटक फेरि नजरबन्दमा परे । सरकारविरोधी प्रदर्शनलाई लिएर यसपटक आसिफ अली जर्दारी सरकारले उनलाई आफ्नै घरमा बन्द गरेको थियो ।

यसपछि सन् २०१३ को निर्वाचनको लागि इमरानले रणनीतिक रुपमा काम गरे । उनले तत्कालिन पाकिस्तान पिपुल्स पार्टीको सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्दै जर्दारी सरकारले गरेको भ्रष्टाचारको मुद्दा उचाले र अफगानिस्तान–पाकिस्तान सीमामा अमेरिकी ‘ड्रोन’ हमलाको विरोध गरे ।

इमरानले राजनीतिमा स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था र आतंकवाद विरोधी पाकिस्तानको वकालत गर्छन् ।

सफल क्रिकेटर

इमरान खान कति ठूला क्रिकेटर हुन् भन्ने कुरा एउटा घटनाले पुष्टि हुन्छ । जब उनले १९८७ मा राष्ट्रिय टिमबाट सन्यास लिए त्यसपछि राष्ट्रपति आफैले उनलाई आग्रह गरेर १९८८ राष्ट्रिय टिममा बोलाइएको घटनाबाट नै प्रष्ट हुन्छ ।

१९ वर्षको छँदा इंग्ल्याण्डविरुद्धको टेष्टमा पाकिस्तानको टिमबाट डेब्यु गरेका उनले तीन वर्षपछि वान डे टिममा पनि स्थान बनाए । उनले सन्यास फिर्ता लिएर ३९ वर्षको उमेरमा कप्तानको रुपमा पाकिस्तानलाई विश्वकप जिताए ।

सन् १९७८ मा अष्ट्रेलियाको पर्थमा आयोजित एक समारोहमा उनले १३९.७ किलोमिटरको गतिमा फ्याँकेको बलको कारण उनको परिचय तीब्र गतिका बलरको रुपमा रहन गयो ।

इमरान खान डेनिस लिली र एन्डी रोबट्र्स जस्ता चर्चित बलरहरुलाई पछाडि पार्दै तेस्रो स्थानमा रहे । उनको आडि माइकल होल्डिंग्स र जेफ थोमसन मात्रै थिए ।

इमरान खानले ८८ टेस्ट म्याचमा ६ शतक र १८ अर्धशतको मद्धतले ३,८०७ रन बनाएका छन् र ३६२ विकेट लिएका छन् । क्रिकेटबाट सन्यास लिने समयमा उनी पाकिस्तानको सर्वाधिक टेस्ट विकेट लिने बलर थिए ।

जब उनी सन् १९८२ मा पाकिस्तानको क्रिकेट टिमको कप्तान बने त्यतिखेर उनी धेरै लजालु थिए । सुरुवाती टिम बैठकमा उनी टिमका सदस्यहरुसँग राम्रोसँग कुरा गर्न सक्दैन थिए ।

यसपछि कप्तान र एक क्रिकेटरको रुपमा उनको उपलब्धी शिखरमा रहे । इंग्ल्याण्डलाई उसैको घरमा हराउने, भारतविरुद्ध घरेलु सिरिजको ६ टेस्टमा ४० विकेट लिने, श्रीलंकाको विरुद्ध करियरको सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने जस्ता प्रदर्शनले उनलाई सफल क्रिकेटरको पहिचान दियो ।

सन् १९८७ को विश्वकपको सेमिफाइनलमा हारेपछि उनले सन्यास लिए तर, पाकिस्तानका राष्ट्रपति जनरल जिया उल हकको आग्रहमा उनले फेरि कप्तानी सम्हाले र १९९२ मा विश्वकप जिताए ।

इमरानले पाकिस्तानलाई आफ्नो पहिलो विश्वकप मात्रै जिताएनन् । ३९ वर्षको उमेरमा पनि आफ्नो टीमको तर्फबाट टुर्नामेन्टको सबैभन्दा धेरै रन उनैले बनाए ।

राजनीतिमा आउनु पहिले पाकिस्तानको निर्वाचनमा एक भोट पनि नहालेको बताउने इमरानलाई विश्वास गर्दै यो निर्वाचनमा उनको पार्टीको चिहृन क्रिकेट ब्याटमा पाकिस्तानी मतदाताले धेरै भोट खसाएका छन् ।

यससँगै चुनावमा इमरानकाे जीतले पाकिस्तानको राजनीतिमा दशकौंकाे भुट्टो र शरीफ परिवारको वर्चश्व तोडिएको छ ।

कमेन्ट गर्नुहोस्