महामन्त्री कोइराला भन्छन्,-‘एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन’

नवलपरासी, साउन ११ । नेपाली काँगे्रसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस जिल्ला कार्य समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”

महामन्त्री डा कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकताअनुसार काँग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताउनुभयो ।

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली कांग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काँगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली काँगे्रसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो । बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको काँगे्रस बलियो हुने पनि उहाँले बताउनुभयो ।  -रासस

कमेन्ट गर्नुहोस्