आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, साउन ११ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा, आजको दिन आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेद व्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई गुन लगाएको मानिन्छ । संस्कृत शब्दमा गुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमाबुवा सरह मान्ने प्रचलन छ । वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता-पिता हुन् भने द्वितीयगुरु पुरोहित, शिक्षक आदि हुन् । मन्त्रदाता गुरुको प्रसिद्धि छ नै ।

परम्परागत रुपमा गुरु पूर्णिमाका दिन शिष्यहरुले गुरुलाई भेट्ने चलन थियो, तर अहिले भने भेट्न भ्याउनेले भेट्छन् नभए टेलिफोन तथा सामाजिक सञ्जालमार्फत शुभकामना दिने गर्छन् ।

कमेन्ट गर्नुहोस्