उत्कृष्ट काम गर्ने डिएसपीसहित १२ प्रहरी पुरस्कृत

काठमाडौं, साउन १० ।  महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल र कमलपोखरी वृत्तका प्रमुख डिएसपी कुलदीप चन्द पुरस्कृत भएका छन् । उत्कृष्ट काम गरेको भन्दै डिएसपीसहित अन्य १० जना प्रहरी पुरस्कृत भएका हुन् ।

बुधबार परिसर काठमाडौंमा एक कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ । पुरस्कृत दरबारमार्ग प्रहरी प्रमुख समेत रहेका डिएसपी मल्लले दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन ब्यवसायलाई मर्यादित बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए ।

खासगरी शुक्रबार र शनिबार दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन ब्यवसायमा हुुने गतिविधि अमर्यादित हुने गरेको थियो भने, रेष्टुरेन्ट, डिस्कोमा काम गर्ने युवतीहरुका विषयलाई लिएर दिनहुँ झैझगडा समेत हुने गरेको थियो । सो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र ब्यवसायीलाई मर्यादित रुपमा ब्यवसाय गर्न मल्लले प्रोत्साहन गरेका थिए ।

कमलपोखरी बृत्तका प्रमुख डिएसपी कूलदीप चन्दलाई पनि सो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र जनताका काम कारवाही चुस्तदुरस्त गर्नमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो । नेपाल प्रहरीमा आ-आफ्ना क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्नका लागि हरेक महिना उनीहरुको कामको मूल्यांकन गर्दै पुरस्कृत गर्ने गरिएको छ ।

असारमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशव भट्ट र प्रहरी प्रभाग फर्पिङका प्रहरी निरीक्षक विष्णु सोतीलाईसमेत पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने अन्य प्रहरीहरुमा सई विजय भण्डारी, श्याममणि पोखरेल, असई पदम थापा, महिला सेलकी निर्मला ओझा, प्रहरी हवल्दार लालबहादुर तामाङ, बलबहादुर सैजवाल, प्रहरी जवान तुलसीराम भट्टराई र सविन थापा रहेका छन् ।

उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रहरी परिसर काठमाडौंले १० हजारदेखि ५० हजारसम्म पुरस्कार स्वरुप रकम प्रदान गर्दै आएको छ । प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्दै आइरहेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले राम्रो काम गर्ने प्रहरीको मनोबल बढाउन पुरस्कारको व्यवस्था गरेका हुन् । प्रहरीलाई पुरस्कार दिँदा लाग्ने रकम नेपाल बङ्गलादेश बैंकले प्रदान गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्