दिलबहादुरको जीवन रक्षार्थका लागि आर्थिक सहयोग

काठमाडौं, साउन ११ । साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीलाई आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको छ । यस्तै, बिहिबार कुवेतमा बस्ने नेपालीबाट प्राप्त भएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई हस्तान्तरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले उक्त रकम घर्तीकी श्रीमती मनिकालाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा घर्तीकी श्रीमती मनिकाले श्रीमानको जीवन रक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यावद दिइन् । सहयोग रकम हस्तान्तरण गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले रोजगारीका लागि कुवेत पुगेका नेपालीले “राप्ती एकता समाज कुवेत” स्थापना गरी एकतावद्ध भएको र त्यसमार्फत सामाजिक सेवामा सक्रिय भइरहेको जानकारी दिए । समाजले भूकम्पपीडित, अग्निपीडित, बाढीपीडितलाई राहत दिनुका साथै सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा अन्य सामाजिक काम गरिरहेको जानकारी पनि दिएका थिए ।

त्यस अवसरमा “दिलबहादुर घर्ती बचाउ अभियान मूल समिति”का सचिव जीवन रोकामगरले अब दिलबहादुरका लागि आवश्यक ब्लडमनि संसारभरिका नेपाली दाजुभाइहरुको सहयोगबाट लगभग पूरा भएको जानकारी दिए । उनले राप्ती एकता समाज कुवेतलाई पनि विशेष आभार प्रकट गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मनोज घर्तीमगरले विश्वभर रहेका दानवीर नेपालीहरुकै सहयोगले अब दिलबहादुरको जीवन रक्षा सम्भव भएको बताउँदै राप्ती एकता समाज कुवेतलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, नेपाल पत्रकार महासंघ, ५ नम्बर प्रदेशका अध्यक्ष मौसम रोकामगरले शुरुमा असम्भव जस्तो लागेको भए पनि सहृदयी दानवीरहरुको सत्प्रयासमा दिलबहादुर घर्तीले नयाँ जीवन पाएको बताए ।

राप्ती समाज कुवेतका अध्यक्ष कृष्णबहादुर खड्काले पनि कुवेतमा रहेर दिलबहादुर घर्तीको जीवनरक्षाका लागि सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले एक नेपालीको दुःखमा संसारैभर छरिएर रहेका नेपालीहरुको सानो सानो सहयोगबाट उनको जीवनरक्षा हुन सकेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्