देउवाकै गाउँमा ३३ लाख फ्रिज !

डडेल्धुरा, साउन ११ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गन्यापधुरा गउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ मा करिव ३३ लाख रकम फ्रिज भएको छ । जनप्रतिनिधि निर्वाचित भएको वर्ष दिनको समीक्षा कार्यक्रममा उक्त गाउँपालिकाको गत आर्थिक वर्षको कूल बजेटमध्ये ३२ लाख ८९ हजार ८३५ रकम खर्च हुन नसकेको हो ।

गत आवको कूल बजेट रु १३ करोड ७७ लाख १३ हजार ३५८ रकममध्ये रु १३ करोड १५ लाख १६ हजार ९९० मात्रै खर्च भएको गाउँपालिकाले जनाएको छ । बिहीबार सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रममा उक्त गाविसका लेखाप्रमुख महेशकुमार जोशीले खर्च विवरण प्रस्तुत गर्नुभएको थियो ।

गत आवमा गाउँपालिकाले सडकलाई मुख्य प्राथमिकतामा राख्दै रु दुई करोड ६६ लाखको लागतमा ७५ किलोमिटर सडक निर्माण गरिएको र भवन निर्माणमा रु एक करोड ५३ लाख खर्च भएको प्राविधिक केशव शाहुले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । यसैगरी २१ वटा खानेपानी योजनामा रु ९३ लाख २५ हजार र मिश्रित विकास निर्माणमा रु ५० लाख खर्च भएको जनाइएको थियो । -रासस

कमेन्ट गर्नुहोस्