एम्बाप्पेले पाए ७ नम्बर जर्सी !

काठमाडौं, साउन ११ । यो पटक फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ७ नम्बर जर्सी विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बापेलाई प्रदान गरेको छ । पिएसजी गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा सम्पन्न विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि क्लबमा उनले ७ नम्बरको जर्सी पाएका छन् । यसअघि ब्राजिलका २५ वर्षीय मिडफिल्डर लुकास मोउराले ७ नम्बर जर्सी पहिरिएका थिए।

मोउरा २०१३ देखि पिएसजीमा आवद्ध थिए। तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा पिएसजीले इङ्लिस क्लब टोटेनहमलाई बेचेको थियो। एम्बापेको चाहना पनि ७ नम्बर जर्सीमा उत्रिने थियो। १९ वर्षीय एमबापे पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका ठूला ‘फ्यान’ हुन्। रोनाल्डो पनि ७ नम्बर जर्सीमा उत्रिने गर्छन। पिएसजीले यसै सिजनमा एमबापेलाई विश्वको दोस्रो ठूलो स्थानान्तरणको रुपमा मोनाकोबाट १ सय ६८ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो। -एजेन्सी

कमेन्ट गर्नुहोस्