सरकारका कामबारे डटेर कुरा राख्न प्रमको आग्रह

काठमाडौं, साउन ११ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिए ।

नेकपा संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइसक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गरे।

प्रधानमन्त्री ओलीले भने, “शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।”

संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उहाँले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भने ।”

कमेन्ट गर्नुहोस्