अमेरिकालार्इ इरानकाे धम्की ‘निहुँ खोजे तहस-नहस पारिदिन्छाैं’

इरान र अमेरिकाबीच जारी तनाव दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको विषयमा आक्रामक प्रतिक्रिया दिएपछि इरानी सेनाका एक कमाण्डरले त्यसको प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएका छन् ।

इरानी समाचार एजेन्सी आइआरएनएका अनुसार, राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमार्फत् इरानले अमेरिकालाई तर्साउन खोजे आक्रमण गर्ने धम्की दिएपछि इरानी सेनाका मेजर जनरल कासिम सुलेमानीले अमेरिकाले इरानमाथि आक्रमण गरे “उसलाई तहस नहस पारिदिने” धम्की दिएका हुन् ।

सुलेमानीका अनुसार यदि ट्रम्पले युद्ध सुरु गरे त्यसलाई इस्लामिक गणतन्त्रले समाप्त गर्ने छ । अमेरिका इरानसँग २०१५ मा भएको परमाणु सम्झौताबाट पछाडि सरे यता दुई देशबीच तिक्तता बढेर गएको छ ।

मेजर जनरल सुलेमानी इरानको रिभोल्युसनरी गार्ड्सको कुर्दस् फोर्सका प्रमुख हुन् । बिहिबार ट्रम्पलाई सम्बोधन गर्दै सुलेमानीले भने, “एउटा सैनिक हुनुको नाताले तपाईंका धम्कीहरुको उत्तर दिनु मेरो कर्तब्य हो ।”

सुलेमानीले भने, “तपाईं राष्ट्रपति हसन रुहानीसँग होइन मसँग कुरा गर्नुस् । तपाईंजस्ताको प्रश्नको उत्तर दिइराख्नु हाम्रा राष्ट्रपतिको गरिमा विरुद्ध छ ।”

अमेरिकासँग निहुँ खोजे इरानले आजसम्म कहिल्यै नदेखेको नरसंहार देख्ने ट्रम्पको चेतावनीको उत्तर दिँदै उनी भन्छन्,  “हामी तपाईं नजिकै छौं, यति नजिक कि तपाईं कल्पना समेत गर्न सक्नु हुन्न । आउनुस् हामी तयार छौं । तपाईंले युद्ध सुरु गरे हामि त्यो युद्ध समाप्त पार्ने छौं र त्यस युद्धले तपाईंलाई ध्वस्त पारिदिने छ ।”

जनरल कासिम सुलेमानीले अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आपत्तिजनक भाषा प्रयोग गरेको आरोप समेत लगाएका छन् । राष्ट्रपति ट्रम्पले आइतबार उक्त धम्कीपूर्ण ट्विट गरेका थिए ।

राष्ट्रपति ट्रम्पको उक्त धम्कीपूर्ण अभिव्यक्ति आएको लगत्तैपछि इरानका विदेशमन्त्री मोहम्मद जावेद जाफरी खोनसारीले ट्विट गर्दै मानवजातिले ठुल्ठुला साम्राज्यहरु पतन भएको देखिसकेको र आफूहरु समेत कतिपय देशहरुको समग्र आयुभन्दा लामो समय साम्राज्य रहिसकेकाले होस पुर्याउन भनेका थिए ।

तर, त्यसको दुई दिनपछि मात्र ट्रम्पले अमेरिकाले इरानसँग “वास्तविक डील गर्न तयार रहेको” बताएका थिए । ट्रम्पले इरानी राष्ट्रपति हसनको धम्कीको उत्तरमा उक्त ट्विट गरेका थिए ।

इरानी समाचार एजेन्सीका अनुसार रूहानीले इरानसँग शान्तिपूर्ण सम्बन्ध राखिराख्नु अमेरिकाका लागि श्रेयस्कर हुने बताएका थिए । उनका अनुसार, “अमेरिकालाई थाहा हुनु पर्दछ कि इरानसँग शान्ति राखे विश्वमा शान्ति रहनेछ, र उसँग युद्ध गर्न चाहे त्यसले ठुलो रुप लिन सक्छ ।”

मे महिनामा अमेरिकाका राष्ट्रपति ट्रम्पले बाराक ओबामासँग भएको इरान न्यूक्लियर डीलबाट आफू बाहिर आउने घोषणा गरेका थिए । उनले यूरोपका केही देशको सल्लाहमा न्यूक्लियर डीललाई बेकारको संज्ञा दिँदै यसबाट बाहिरिने घोषणा गरेका थिए ।

यसको जवाफमा इरानले परमाणु ऊर्जा र हथियार बनाउन प्रयोग हुने यूरेनियम उत्पाल फेरि सुरु गर्ने धम्की दिएको थियो । न्यूक्लियर डीलमा संलग्न अ्रन्य देशले आपत्ति जनाए पनि अमेरिकाले इरानमाथि तेल, विमान निर्यात र बहुमूल्य धातुको व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

परमाणु ऊर्जा तथा यूरेनियमउत्पादन बन्द गरेको दावी गर्दै आएको इरानप्रति अमेरिका अझै विश्वस्त हुन सकेको छैन । यी दुई देशबीचको लडाईको एउटा मुख्य कारण इरानमाथि अकेरिकाकाे शंका भएको विश्लेषक बताउँछन् । यही कारणले अमेरिकाले इरानको दुश्मन मानिएको इजरायल र साउदी अबरसँग सम्बन्ध बिस्तारको गरेको छ ।

कमेन्ट गर्नुहोस्