उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता, शिक्षा र स्वास्थ्यमा सहकार्य गर्न थाइ सरकार इच्छुक

काठमाडौं, साउन ११ । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र थाइल्याण्डको भ्रमण सम्पन्न गरी आज स्वदेश फिताृ भएका छन् ।

शुक्रबार स्वदेश फर्केका उपप्रधान मन्त्री यादवले थाइल्याण्ड भ्रमणका क्रममा भएका उच्चस्तरीय वार्तामा स्वास्थ्य र शिक्षा क्षेत्रमा दुबै मुलुकले एकआपसमा सहयोग, सहकार्य गर्ने सहमति भएको जानकारी दिए । ‘नेपालका मेडिकल कलेजहरूको स्तरोउन्नति, स्वास्थ्य सेवा, उच्चस्तरीय नर्सिङ तालिम प्रदान गर्ने सहमति भएको छ । नेपालका अस्पतालहरूलाई आधुनिकीकरण गर्नेबारेमा पनि सहमति भएको छ ।’, उनले बताए ।

थाइल्याण्ड सरकारले नेपालमा चिकित्साशास्त्र अध्ययनका लागि सहयोग गर्ने आश्वासन दिएको यादवले बताए । उनले भने, ‘युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्त गर्न नेपाललाई सहयोगका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मिलेर काम गर्ने सहमति भएको छ ।’

नेपाली विद्यार्थीलाई चिकित्सा विज्ञान, नर्सिङ लगायतका क्षेत्रहरूमा अध्ययन र तालिमको लागि सहयोग गर्ने सहमति भएको बताउँदै मन्त्री यादवले भने, ‘महिडोल विश्वविद्यालयले नेपाली विद्यार्थीलाई चिकित्सा क्षेत्रमा अध्ययन तथा छात्रबृत्ति लगायत अन्य सहयोग प्रदान गर्ने सहमति भएको छ । थाइल्याण्ड सरकार पनि सकारात्मक छ ।’

यादवले आफ्नो भ्रमण र वार्तालाई थाइल्याण्ड सरकारले ठूलो महत्व दिएको आफूले पाएको बताए । ‘थाइल्याण्ड सरकार र महिडोल विश्वविद्यालयले हाम्रो भ्रमणलाई उच्च प्राथमिकताका साथ महत्व दिएको पायौँ’, उनले भने । थाइल्याण्ड सरकारसँग भएको वार्ता र सहमतिले नेपालको चिकित्सा विज्ञान र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।

थाइल्याण्डका स्वास्थ्य मन्त्रीले पनि नेपालले चाहेको खण्डमा स्वास्थ्य र शिक्षा क्षेत्रका विषयमा थाइल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धन तथा स्वास्थ्य क्षेत्रका सम्पूर्ण गतिविधिमा सहयोग गर्न तयार छौं’, थाइल्याण्डका स्वास्थ्य मन्त्रीको भनाइ उदृत गर्दै मन्त्री यादवले भने, ‘दुवै देश मिलेर काम गरौं । नेपालका विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न थाइ सरकार तयार छ ।’

कमेन्ट गर्नुहोस्