एक व्यवसायीले ७४ वटा ठेक्का लिएको सुनेको छु : मन्त्री पुन

काठमाडौं, साउन ११ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले विद्युत सेवालाई सुरक्षीत, विश्वासीलो र गुणस्तरीय बनाउनुपने बताएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चौथो बार्षिक उत्सव कार्यक्रममा शुक्रवार बोल्दै मन्त्री पुनले विद्युत सेवा भरपर्दो हुनुपर्नेमा जोड दिएका हुन ।

नांगो तार र काठको पोलका कारण करेण्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भीर वन्न सम्बन्धित निकायलाई मन्त्री पुनले निर्देशन दिए । मन्त्री पुनले काठका पोल विस्थापित गर्न ३ अर्ब बजेट आवश्यक रहेको भन्दै त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषदमा लग्ने जानकारी दिए ।

‘बर्षा याममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ । काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्री ज्युलाई समेत जानकारी गराइसकेको छु । उहाँले मलाई अनुमति दिइसक्न भएकोले यो प्रक्रिया छिट्टै अघि बढ्छ ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्नसमेत कर्मचारीलाई निर्देशन दिए । ‘मैले सुनेको छुु एक जना निर्माण व्यवसायीले ७४ वटा ठेक्का लिनुभएको छ । उहाँहरुले प्रतिस्पर्धा गरेर लिएपनि काम भने गुणस्तरीय हुनुपर्छ ।’ मन्त्री पुनले भने । मन्त्री पुनले समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री पुनले उर्जालाई सहभागीता मुलक बनाउने दाबी गरे । मन्त्रालयले तीन हजार मेगावाट विजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनौट गरिसकेको जानकारी दिंदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रह समेत गरे । उनले सरकारले छनौट गरेका सवै आयोजनामा नाफा सुनिश्चित हुने दाबीसमेत गरे ।

कमेन्ट गर्नुहोस्