कथा : सपनाको मोड

उसले अपहरण गरी ल्याएको बालक अर्को खटियामा सुतिरहेको थियो । बालकको अबोध र शान्त मुद्राले बताउँथ्यो, उसलाई अपहरणको कुनै जानकारी छैन । घरमा आमाबाबुको न्यानो अँगालोमा सुतेको भन्दा फरक थिएन उसको यो सुताइ । ऊ बालकलाई हेर्दै तनावग्रस्त बनिरहेको थियो । उसले यो बालकलाई आज बिहानमात्र नेपालगञ्जबाट उठाएर भारतको नानपारामा ल्याइपुऱ्याएको थियो । उसले बालकको बाबुलाई फोनबाट रु.१० लाख मागिसकेको छ । उसले बालकको अनुहारमा दृष्टिपात गर्दै कल्पना गऱ्यो, दश लाख रुपैयाँ हात परेपछि ऊ के–के गर्नेछ ? उसको मनमा साथी रङ्घुको जस्तै अनौठा विचारहरू आए । बहराइच जिल्लाको शातिर अपराधी रङ्घु प्रायः भन्ने गर्थ्यो, “जिन्दगीमा मस्ती गर्ने मन छ भने डन बन्नुपर्छ । डनले शक्ति, पैसा र सुन्दर लड्की पाउँछ । यी तीन कुराले जिन्दगीलाई रुपैडिहाको फोहोर गल्लीबाट उठाएर मुम्बईको आलिशान होटलमा पुऱ्याइदिनेछन् ।” उसको आँखा अगाडि दश लाखका नोटहरू नाँचे । ऊ कल्पना गर्न थाल्यो, ऊ अहिले आफ्नी स्वास्नी र छोरासहित रेलको डिब्बामा छ । उनीहरू मुम्बई हान्निँदै छन् । डबलुवा आमाको काखमा पल्टिरहेको छ । दश लाख नोट भएको पोको उसको सिरानमा छ । उसकी स्वास्नी कहिले आफ्नो छोरो त कहिले नोटको पोकोलाई मुसार्दै मुस्कुराइरहेकी छे । स्वास्नीलाई हेर्दै ऊ भनिरहेको छ, “… अब त्वार मर्द मुम्बईके डन होइगा ।” अचानक मोबाइल फोनको घण्टी बज्यो ।

“हजुर हामीले घर–पसल बन्धकी राखेर रकम जुटाउँदैछौं । हामी गरीब छौं, पाँचलाखसम्म गरिदिनुहोस् हजुर !” उताबाट बालकको बाबु कारुणिक स्वरमा बिन्ती बिसाइरहेको थियो । “पाँच लाखमा त छोरोका लाश पनि पाउन्नस् !” भगवानदिनले चेतावनी दियो । “त्यसो नभन्नुस् हजुर ! हामी गरीब, यत्रो पैसा कहाँबाट ल्याऊँ ?” सुशान्तको बाबु फोनमै क्वाँ–क्वाँ रुन थाल्यो ।

“भरे साँझ आठ बजे मलाई सम्पर्क गर्नु ।” ऊ मोबाइलको ‘स्विच अफ’ गरेर कल्पना गर्न थाल्यो- फिरौती पाएपछि यो बालकलाई के गर्ने ? यसलाई यही नानपाराको कुनै गल्लीमा छोडेर लखिमपुरखिरीतिर छड्किनुपर्ला । बालक चलमलायो ।

“भगवानदिन चाचा म घर जान्छु ।” “अझै कति राम्रा–राम्रा ठाउँहरू घुम्न बाँकी छ । मिठाईहरू खान बाँकी छ ।” “म अब घुम्दिनँ, मिठाई पनि खाँदिनँ ।” “तिम्रो बाले मलाई सप्पै ठाउँ घुमाएर ल्याउनु भनेका छन् । अनि मैले तिमीलाई घुमाइनँ भने मलाई गाली गरिहाल्नुहुन्छ”, भगवानदिनले भन्यो । सुशान्त रुन थाल्यो । भगवानदिन चिन्तातुर देखियो । उसले मनाउने प्रयास गऱ्यो, तर सुशान्त रोइरह्यो । हिजो रातिदेखि केही नखाएकाले सुशान्त भोकले रन्थनिएको थियो । भगवानदिनले चिया र बिस्कुट ल्याइदियो । सुशान्तले कपाकप खायो । यसलाई लामो समयसम्म राख्नु पऱ्यो भने त बर्बादै हुन्छ । भगवानदिनले सुस्केरा छाड्यो ।

अहिलेसम्म अपहरणकारी अपरिचित छ । बालक उम्कियो भने उसले तुरुन्तै भगवानदिन चाचाको नाम लिन्छ । भगवानदिनका हातखुट्टाहरू फतक्क गले । त्यसपछि प्रहरीको भ्यान, रातभर पैतालामा बाँसको लट्ठी, जेल, बा–आमा, स्वास्नी, छोरा … ! गाउँलेहरूले घर घेर्ने छन् । कसैले ढोका फोड्ने छन् त कसैले भित्ता ! कोही छतमाथि चढेर आगो लगाउने प्रयास गर्ने छन् । कोही मौका यही हो भन्दै घरभित्र पसेर लुटपाट मच्चाउने छन् । त्यसपछि त के नै बाँकी रहन्छ र !

भगवानदिनले जोडले आफ्नो टाउको समात्यो । “भोलिसम्म फिरौती हात परेन भने यसलाई मारेर कतै मिल्काइदिन्छु । न रहे बाँस न बजे बाँसुरी… ” उसले निश्चय गऱ्यो । तर, फिरौती नपाए ? त्यो झन् खतरनाक अवस्था हुनेछ । भगवानदिनले सुशान्तलाई हेऱ्यो । ऊ ताजा देखिएको थियो । भगवानदिनका आँखामा क्रूरताका भावहरू देखिन थाले । यसलाई दुवै अवस्थामा मारेर फाल्नै पर्छ । उसले सुशान्तलाई सिकारीले मृगलाई हेरे झैं हेर्न थाल्यो । “भगवानदिन चाचा, घुम्न जाने होइन ?” बिजुलीको स्वीचहरू चलाइरहेको सुशान्त दौड्दै आएर उसको काखमै बस्यो ।

“साँझ परिसक्यो बाबु ! अहिले बजारमा बच्चा चोरहरू घुमिरहेका होलान् !” भगवानदिनले होटलको कोठामा नै खाना मगायो । दुवै जनाले खाना खाए । खाँदाखाँदै घर सम्झेर होला सुशान्त फेरि हिक्क–हिक्क गर्न थाल्यो । आठ बज्न लागेपछि भगवानदिनले मोबाइल ‘अन’ गऱ्यो । मोबाइल खुलेको पाँच मिनेटमै घण्टी बज्यो । फोन गर्ने सुशान्तको बाबु नै थियो । भगवानदिन कोठाबाट बाहिर निस्किएर बाहिरबाट ढोकाको चुकुल लगायो र एकछेउतिर लाग्यो । “हेलोऽऽ !” “म सुशान्तको बुबा !”
“एक्लै हो ?” “म एक्लै छु । पुलिसलाई म किन खबर गर्छु र !’’ “पुलिसलाई खबर गरेको थाहा हुनेबित्तिकै तेरो छोरो मर्छ, याद गर्नु ।” उताबाट रोएको आवाज आयो । “तेरो छोरो मरिसकेको छैन, किन रुन्छस् हँ ?” भगवानदिन कड्क्यो । “मेरो एक्लो छोरो हो हजुर ! घर बन्धकी राखेर पाँच लाख व्यवस्था गरेको छु । रकमसहित मान्छे पठाउँदैछु ।” “हो ?”

“सुशान्तको कसम हजुर ! तपाईंले भने अनुसार नै पठाएको छु ।” भगवानदिन सन्तोषको सास फेरेलगत्तै अर्को घनचक्करमा पऱ्यो, सुशान्तलाई कहाँ, कसरी ठेगाना लगाउने ? उसले फिरौती बुझनुअघि नै यो काम सक्नुपर्छ । अन्ततः उसले होटलको कोठामै हत्या गर्न र भाग्न सजिलो हुने ठहर गऱ्यो । होटलको बरण्डामा यताउति गरिरहेको भगवानदिनले चुरोट सल्कायो । चक्कुले घाँटी रेट्ने कि सीधै मुटुमा घोच्ने ? वा घाँटी थिच्ने ? ऊ चुरोटको धूवाँ उडाउँदै सोचमग्न भयो । अचानक चुरोटको ठुटो पर हुत्याएर ऊ कोठाभित्र पस्यो ।

“भगवानदिन चाचा तपाईं कहाँ जानुभएको ? मलाई कस्तो डर लाग्यो !” “सुशान्त, अब सुत । भोलि बिहानै घर जाने ।” “आँखा चिम्लँदा पनि निद्रा लाग्दैन । भोलि त बिहानै घर जाने ।” सुशान्तले आँखा चिम्लियो । शायद ऊ आफू घर पुगेको, बा–आमा र साथीहरूलाई भेटेको सपना देख्न चाहन्थ्यो ।

भगवानदिनको अनुहार सपाट थियो । ऊ सुशान्तको नजिकै बस्यो । उसका बलिष्ठ हातहरू विस्तारै सुशान्तको घाँटीतिर बढ्न थाले । ऊ मुम्बईको डन बन्ने लाइसेन्स प्राप्त गर्दै थियो ।

अचानक मोबाइल बज्यो । उसले मोबाइल निकालेर हेऱ्यो । यो निजी नम्बर थियो । उसले फोन नउठाएरै बिच्छेद हुन दियो । उसका आँखाहरू फेरि सुशान्तको गर्धनतिर सोझिए । भर्खर ६-७ वर्ष पुगेको बालक, रेशमको डोरी झै कोमल गर्धन हेर्दाहेर्दै ऊ भावुक बन्यो । उसको मन विचलित हुन थाल्यो । तर उसले यो बालकलाई नमारी आफू नजोगिने परिस्थिति सिर्जना गरिसकेको छ । उसले फेरि सुशान्तको घाँटीतिर दुवै हात बढायो ।

मोबाइलमा फेरि ‘दबङ्ग’ फिल्मको हिट गीत ‘मुन्नी बद्नाम हुई…’ बज्न थाल्यो । उसले एकछिन गीतको मुखडा सुन्यो, हृदयमा ‘सुकुन’ महसुस गऱ्यो । उसले मुन्नीकै लागि नम्बरै नहेरी मोबाइल उठायो । “हेलोऽऽऽ …” झर्के लागे झैं गरी बोल्यो ऊ । “भगवानदिन, हम तुहार बप्पा बोलिथे”, उताबाट उसको बाबुको आवाज आयो । “हाँ बप्पा हम बोलिथे”, अवाक् भयो भगवानदिन । “यी का कऱ्यौ भैया ?” “हम कुछ नाई करा है बप्पा ।” “तु झूट बोलथ हो । तँलाई के नपुग्दो थियो । म बूढो भए पनि खेतमा हलो चलाई नै रहेको थिएँ । तेरी आमाले मजदुरी गरी नै रहेकी थिई । तेरी स्वास्नीले पनि चुलोचौकाको काम सम्हालेकी थिई । किसानी गरेर दुईछाक खान पुगेकै थियो । खरको सानो झेपडी भए’नि वर्षात् कटेकै थियो । किन यसो गरिस् भगवानदिन !!” बूढो बाबुको स्वर डुब्दै गइरहेको थियो । भगवानदिन बोल्न सकेन ।

“यो बूढो बाबु र बूढीआमालाई तैंले जिउँदै मारिस्, भगवानदिन ! तँ साँच्चै नै मेरो छोरो होस् ?” “हाँ बप्पा … !” भगवानदिन भक्कानियो । “तैंले यो के गरिस् ? कसको चङ्गुलमा परिस् भगवानदिन ?” “माँऽऽऽ … !” भगवानदिन जोडले रुन थाल्दा सुशान्त बिउँझ्यिो । जुरुक्क उठेर उसले बरबरी आँसु झरिरहेको भगवानदिनलाई हेऱ्यो, केही बुझ्न सकेन । भगवानदिनको दयनीय अवस्था देखेर सुशान्त पनि हिक्क–हिक्क गर्न थाल्यो । मोबाइलमा अहिले भगवानदिनकी स्वास्नीको मसिनो स्वर आइरहेको थियो । “तु यी का कई डाऱ्यौ डबलुवाके बप्पा ? त्वार बप्पा अ बुवा बहुत दुःखीया है । दुसरेके बच्चाका गायब करेकदौर तुका अपने लड्कातना नाई लाग ?” ऊ क्वाँ क्वाँ रुन थाली ।

स्वास्नीको रुवाइसँगै भगवानदिनले आफ्नै नाबालक छोराको कोकोहोलो पनि सुन्यो । “भगवानदिन” फेरि बाबुको आवाज आयो । “पिताजी !!” “तेरी स्वास्नीको काखमा बसेर तेरो छोरो दूध चुसिरहेको छ । यसलाई कसैले अपहरण गरेर माऱ्यो भने तँ के गर्छस् ?” “हम जिन्दै मरजिवे बप्पा !” भगवानदिन डाँको छोडेर रुन थाल्यो । “भगवानदिन चाचा ! के भो ? किन त्यसरी रुनुभएको ? हामी भोलि घर गइहाल्छौं नि !” सुशान्त भगवानदिनको काखैमा बसेर आँसु पुछिदिन थाल्यो । उसले विस्फारित नेत्रले सुशान्तलाई हेऱ्यो । मुम्बईको डन बन्ने आफ्नो सपना यो रूपमा दुर्घटनाग्रस्त हुँदा ऊ अवाक् थियो ।

साभार: हिमाल खबर पत्रिका

कमेन्ट गर्नुहोस्