‘धनगढीमा डान्स च्याम्पियनशिप’ भदौंमा

धनगढी, साउन ११ । रियालिटी शो ‘धनगढी डान्स’ च्याम्पीयनशिप प्रतियोगिता हुने भएको छ । द ट्वीन्स अ कम्प्लीट इन्स्ट्यिुट अफ डान्सको आयोजनामा उक्त रियालिटी शो हुने भएको हो ।

अवसर सृजना गर्दै लुकेर रहेका नवप्रतिभाको खोजी गर्ने उदेश्यले प्रदेश ७ का मुख्य शहरलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको आयोजक द ट्वीन्सका निर्देशक केशव बलायरले बताए ।

प्रतियोगिताको पहिलो अडिसन धनगढीमा यहि साउन २६ गते र अत्तरियामा भदौ २ गते गरिने आयोजकले जनाएको छ । निर्णायकको भुमिकामा नृत्य क्षेत्रबाट ख्याती कमाएका स्थानीय देखि राष्ट्रिय स्तरका चर्चित व्यक्तित्व रहनेछन ।

प्रतियोगिताको विजेताले ५५ हजार ५५५, उपविजेताले २२ हजार २२२ र तृतियले ११ हजार १११ रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि भदौ २ गतेसम्म फारम भर्न सकिने छ ।

प्रतियोगिताले यहाँको कला क्षेत्रमा योगदान पु¥याउनुका साथै संस्कृति र पर्यटनको प्रचारमा पनि मद्दत पुग्ने सुप कला प्रतिष्ठानका संयोजक गुणाकर पनेरुले बताए ।

यस्तै नृत्य र गायनका क्षेत्रमा राष्ट्रिय स्तरमा टेलिभिजन रियालिटी शोमा यहाँका कलाकारले राम्रो प्रस्तुती गरिरहेको भएपनि स्थानीय स्तरबाट यो कार्यक्रमले आधार तयार गर्ने नृत्य निर्देशक गोबिन्द मुखियाले बताए ।

कमेन्ट गर्नुहोस्