इन्डोनेसियामा भूकम्पको झड्का, १० को मृत्यु

इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण कम्तिमा पनि १० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार ६.४ रेक्टर स्केल तीव्रताको उक्त भूकम्पको केन्द्र इन्डोनेसियाको बाली द्वीपभन्दा ४० किलोमिटर दूरीमा रहेको लोकप्रिय पर्यटकीयस्थल उत्तरी लोम्बोक रहेको बताइएको छ ।

आइतबार स्थानीय समय अनुसार बिहान ७ बजे आएको उक्त भूकम्पका कारण कतिपय भवनहरूमा नोक्सान पुगेको तथा दर्जनौं घाइते भएको बताइएको छ ।

इन्डोनेसियामा प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने एजेन्सीका प्रवक्ता सुतोपो पुरवो नुगरोहोका अनुसार हालसम्म करिब ४० जना घाइते भएको विवरण प्राप्त भएको छ । “दर्जनौं घर क्षतिग्रस्त भएका छन् । हामीलाई लाग्छ हताहति र घाइतेहरूको संख्या अझै बढ्न सक्छ । झी सबैठाउँको विवरण आउन सकेको छैन ।” उनले भने ।

नुगरोहोले आफ्नो ट्विटर एकाउन्टबाट केही तस्बिर समेत सार्वजनिक गरेका छन् ।

एक जना प्रत्यक्षदर्शीले एएफपीलाई दिएको जानकारी अनुसार’ “भूकम्पको झड्का तीव्र थियो । यसले सबै हल्लायो । मानिसहरू डराएर यताउति दगुरिरहेका थिए । कम्पनको केही मिनेटपछि नै पुरै सहरमा बिजुली गएको थियो । ”

इन्डोनेसिया ‘रिङ अफ फायर’ भनिने भूकम्प र ज्वालामुखीय विष्फोटहरूको रेखामा अवस्थित हुनाले यहाँ भूकम्पको खतरा सधैँ रहिरहन्छ । पुरै प्रशान्त महासागरलाई घेर्ने उक्त रेखामा आधा भन्दा बढी सक्रिय ज्वालामुखी रहेका छन् ।

कमेन्ट गर्नुहोस्