उच्च अधिकृतसहित ३८ जना प्रहरीमाथि कारबाही

विराटनगर, साउन १३ । प्रहरी संगठनको आचरण विपरित कार्य गरेको भन्दै प्रदेश १ मा एसएसपीसहित ३८ जना प्रहरी निलम्बनमा परेका छन् । एक वर्षको अवधिमा उच्च प्रहरी अधिकृतदेखि जवानसम्म निलम्बनमा परेका हुन् ।

आर्थिक वर्ष ०७४र७५ मा प्रदेशका १४ जिल्लाका ६५२ इकालमा कार्यरत प्रहरी मध्ये ३८ जनालाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पेशाप्रति जवाफदेही नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा कार्यरत एसपी विध्यानन्द माझी निलम्बनमा परेका थिए । तर, एसपी माझीमाथिको निलम्बन फुकुवा भइसकेको छ । उनी हाल जिल्ला प्रहरी कार्यालय डोटीमा छन् ।

तत्कालीन समयमा सुनसरी प्रहरीका प्रमुख रहेका माझीलाई बालिका बलात्कारको घटनामा ‘मिलापत्र’ गराएको भन्दै विभागीय कारबाही स्वरुप प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो । सोही घटनामा इटहरीस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक चिरन्जीवि दाहाल पनि निलम्बनमा परेका थिए ।

प्रदेश प्रहरी कार्यालयले एक वर्षको अवधिमा कसुरको मात्रा हेरी ३५६ जनालाई कारबाही गरेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) केदार रिजालले प्रहरी संगठन भित्र व्यवसायिक र दक्ष, इमानदार प्रहरी कर्मचारी निर्माणका लागि प्रयास भइरहेकाले आफ्नो पेशा र मर्यादा विपरीत काम गर्न प्रहरी कर्मचारीलाई छुट नहुने बताए । ‘हामी नमूना प्रहरी बनाउने अबधारणा अनुसार अघि बढेका छौ,’ उनले भने, ‘हाम्रो यो यात्रामा कोही प्रहरी कर्मचारी बाधक बन्छ भन्ने ऊ विभागीय कारबाहीको भागिदार हुन्छ ।’ अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्