८ निजी कलेजलाई सम्बन्धन दिएकाे भन्दै विद्यार्थीदेखि प्राद्यापक अन्दोलित

काठमाडौं, साउन १४ । सहमति विपरित विभिन्न ८ नीजि कलेजलाई सम्बन्धन दिइएकाे भन्दै विद्यार्थी देखि प्राद्यापक संगठन अन्दोलित भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्ले सहमति बेगर ७ वटा कृषि विज्ञान र एक वटा वन विज्ञान निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विद्यार्थी र प्राद्यापक संगठन आन्दोलित भएका हुन् ।

अघिल्लो महिना (असार) २१ गते गत वर्ष भएका सहमतिलाई उल्ट्याउँदै ८ वठा क्याम्पसलाई सम्बन्धन दिइएकाले त्यसको खारेजीकाे माग राख्दै विश्वविद्यालयको केन्द्रिय (रामपुर तथा हेटौंडा) तथा सम्पूर्ण आगिंक क्याम्पसका विद्यार्थी संगठनहरु तथा प्राध्यापकहरु आन्दोलनमा तथा धर्नामा उत्रिएका छन् । एक प्रेस बिज्ञप्ति जारी गर्दै सम्बन्धन खारेजीका लागि आन्दोलनमा उत्रिएको उनीहरुले जनाएका छन् । विद्यार्थी तथा विभिन्न प्राद्यापक संगठनले जारी गरेको बिज्ञप्ति यस्तो छ-

प्रेस बिज्ञप्ति
कृषि क्षेत्रको समग्र विकाशको लागि कृषि शिक्षा, अनुसन्धान र प्रसारलाई एकै थलोमा ल्याइ Land grant Model काे मर्म अनुसार तीनवटै म्यान्डेटका साथ वि. स. २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएको हो । आफ्नो स्पष्ट नीति तथा कार्यक्रममा अग्रसर भइ आफ्ना केन्द्रिय तथा आंगिक कलेजहरु मार्फत कृषि शिक्षालाई अगाडि वढाउनु पर्नेमा शैक्षिक माफियाको प्रभावमा परेर नीजि सम्बन्धनको गोलचक्करमा स्थापनाकाल देखिनै विश्वविद्यालय फस्न पुग्यो ।

नीजि सम्बन्धनको प्रकृयामा विद्यार्थी तथा प्राध्यापकहरुले विभिन्न चरणमा असहमति तथा विरोध जनाएपछि गत वर्ष (२०७४ भाद्र २ गते ) सम्पूर्ण सरोकारवालाहरुको सहमतिमा नीजि सम्बन्धनको प्रकृया पूर्ण रुपमा स्थगन गर्ने, निजि सम्बन्धन सम्बन्धी अर्को निर्णय गर्नुपरेमा सम्पूर्ण सरोकारवालाहरुको (बिद्यार्थी, प्राध्यापक, कर्मचारी र पदाधिकारी) सर्बसम्मत सहमतिमा गर्ने र प्रत्येक प्रदेशमा कम्तिमा एक एक आंगिक कलेज खोल्ने सहमति भएको थियो ।

विश्वविद्यालय आफैंमा परिपक्क भइनसकेकोे, विश्वविद्यालयको शैक्षिक कार्यक्रम धरासायी अवस्थामा पुगेको, त्रिविसँग सम्पत्तीको विवाद टुंगिनसकेको तथा विश्वविद्यालय अन्तरगतका आंगिक कलेजहरुमा हालसम्म न्यूनतम पूर्वाधार तथा सेवाहरुको पनि अभाव भई शैक्षिक गुणस्तरमा ह्रास आइ विविध समस्याहरुमा विश्वविद्यालय फसिरहेको वर्तमान परिस्थितिमा पुन सम्बन्धनका प्रक्रियाहरु बिउझाउँदै पदाधिकारीहरु विश्वविद्यालय स्थापनाको मूल मर्म र भावना विपरित झनै अन्यौलग्रस्त वातावरणको सृजना गर्न उद्धत देखिन्छन् ।

यहि २०७५ असार २१ गते गृष्मकालीन विदाको मौकामा माथि उल्लेखित सहमति विपरित देशका विभिन्न स्थानमा ८ वटा नीजि कलेजहरुलाई (७ वटा कृषि विज्ञान र एक वटा वन विज्ञान) विश्वविद्यालय कार्यकारी परिषदले सम्बन्धन दिने निर्णय गर्यो । उक्त निर्णयप्रति असहमति जनाउदै सम्बन्धन खारेजीको मागसहित विश्वविद्यालयको केन्द्रिय (रामपुर तथा हेटौंडा) तथा सम्पूर्ण आगिंक क्याम्पसका विद्यार्थी संगठनहरु तथा प्राध्यापकहरु समेत आन्दोलनरत र धर्नामा रहेका छांै ।

सम्बन्धन किन गलत ?
– शिक्षण, अनुसन्धान तथा प्रसारको म्यानडेट लिएर स्थापित एक मात्र विषयगत प्राविधिक विश्वविद्यालय, आफ्नो स्थापनाको उद्देश्यको मर्म विपरित सम्बन्धन दिएको छ ।
-बिगतमा विश्वविद्यालयका विभिन्न सरोकारवालाहरुसंगको छलफल तथा सहमति अनुरुप सम्बन्धन सम्बन्धि सम्पूर्ण प्रक्रियाहरु स्थगित भइसकेकोले ।

– विश्वविद्यालय सभाले १० वटा आंगिक कलेजहरुको स्थापना गर्ने निर्णय पारित गरेको अवस्थामा जम्मा ४ वटामात्र आंगिक कलेजहरुको स्थापना (एउटा २०७२ सालमा र ३ वटा यसै वर्ष) भएको छ । स्थापना भएका आंगिक कलेजहरु निकै दयनिय अवस्थामा संचालित रहेको अवस्थामा सुधार गर्नु अति आवश्यक देखिन्छ । निर्णय र सहमतिका आंगिक कलेजहरु स्थापना नगरी विश्वविद्यालय प्रशासन निजी सम्बन्धन तिर ढल्कनु अस्विकार्य छ ।

– समाजवादतर्फ उन्मुख संविधानमा शिक्षा मौलिक हक भएको र सर्वसुलभ तर्फ उन्मुख हुनुपर्नेमा हालको विश्वविद्यालय प्रशासनले नीजिकरणलाइ प्रश्रय दिने नियतका साथ सम्बन्धन दिएको देखिन्छ ।
-विश्वविद्यालयको आंगिक र नीजि कलेजहरुको लागि फरक फरक मापदण्डहरु ( जस्तै नीजि कलेजको लागि २ बिघा जमिनले पुग्ने तर आंगिक कलेजको हकमा भने ८ बिघा चाहिने, आंगिक कलेज सिनेटले पास गर्नुपर्ने तर नीजिलाइ सिनेटको सहमति नचाहिने र नीजि कलेजहरु कम्पनी ऐन अन्तरगत दर्ता हुने ) आफैमा त्रुटिपुर्ण र नाफाउन्मुख रहेको कारणले शिक्षाको गुणस्तरमा समेत समानता नहुने ।
– नीजि कलेजहरुलाई सम्बन्धन दिने समयमा भूगोल तथा स्थानलाई मध्यनजर नगरी नीजि लगानीकर्ताहरुको प्रभावमा सम्बन्धन दिएको देखिएकोले ।

– विद्या परिषद् र प्राज्ञिक परिषद्को छलफलमा नीजि सम्बन्धनको विपक्षमा रहेका पदाधिकारीहरुलाई समेत छलेर अपारदर्शी ढङ्गले विश्वविद्यालय हाता बाहिर निर्णय गरिएकाले ।
– त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको कर्मचारी एंव सम्पत्ति हस्तान्तरण विवाद यथावत रहिरहेको अवस्थामा नीजि शैक्षिक संस्थाहरुलाई सम्वन्धन प्रक्रिया अगाडि वढाउदा विश्वविद्यालयमा शिक्षाको गुणस्तर कायम र नियन्त्रण गर्न नसकिने भएकाले ।

-हाल विश्वविद्यालयको केन्द्रिय क्याम्पस रामपुरमा २४३ हेक्टरमा रहेको तर जम्मा १६५ जना विद्याथीहरु पठनपाठन गराइएको छ जहाँ सहुलियत शुल्कमा थप विद्यार्थी अध्ययन गराउन सकिने भएता पनि विश्वविद्यालय प्रशासनले त्यसतर्फ ध्यान नदिइ नीजि कलेजहरु सम्बन्धन दिएकाले ।

– कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगै अन्य विश्वविद्यालयहरुले समेत कृषि विज्ञान विषयमा नीजि सम्बन्धनको प्रकृया अगाडी वढाएको हुँदा देशमा कृषि जनशक्तिहरुको गुणस्तर ह्रास एंव माग र आपुर्तिमा असन्तुलन हुन जान्छ । तसर्थ देशमा कृषि जनशक्ति मागको प्रक्षेपण नगरि सम्पुर्ण विश्वविद्यालयको सम्बन्धन प्रकृया खारेज गर्न माग गर्दछौ । विभिन्न विश्वविद्यालयहरुवाट पनि कृषिमा जनशक्ति उत्पादन हुन थालेकाले कृषि जनशक्तिको गुणस्तर मापन गर्न समेत अत्यावश्यक देखिएकाले कृषि शिक्षा काउन्सिल र उच्च कृषि शिक्षा नीति बनाएर हल गर्न जोडदार माग गर्दछौं ।

सम्पुर्ण आन्दोलनरत प्राध्यापक एबम बिद्यार्थी संघ संगठनहरु
कृषि तथा वन विज्ञान विश्वविद्यालय
रामपुर, चितवन

होमनाथ गिरी, कोषाध्यक्ष, नेपाल राष्ट्रिय प्राध्यापक संगठन
उदित प्रकाश सिग्देल, का.वा. अध्यक्ष, नेपाल प्रगतिशील प्राध्यापक संगठन
नगेन्द्र दाहाल, अध्यक्ष, अखिल (क्रान्तिकारी)
हेमराज कठायत, अध्यक्ष, अनेरास्ववियू
मन्दिप पोख्रेल, अध्यक्ष, ने वि संघ
किरण रोका मगर, अध्यक्ष, अखिल(क्रान्तिकारी) विप्लव समूह
सुवास सापकोटा, अध्यक्ष, अखिल (छैटौ)

कमेन्ट गर्नुहोस्