प्रचण्ड र चिनियाँ उपमन्त्रीबीच भेट : प्रचण्डलार्इ राष्ट्रपति सिकाे न्यानो अभिवादन

काठमाडौं, साउन १४ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेटवार्ता गएको छ । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा चिनियाँ सहयोगका बारेमा चर्चा भएको थियो ।

भेटमा अध्यक्षले कम्युनिष्ट पार्टीहरुबीचको एकताले जनतामा आशा जगाएको बताउँदै चीनको द्रुत आर्थिक विकास नेपालका लागि प्रेरणाको स्रोत भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले उपमन्त्री समक्ष नेपालको आर्थिक विकासमा चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र जनताको निरन्तर सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताए । साथै उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले भने, ‘म प्रधानमन्त्रीका रुपमा पहिलो पटक चीन जाँदा ‘कनेक्टिभिटी’ को कुरा उठाएको थिएँ । अहिले त्यो कार्यान्वयनको प्रक्रियामा जाँदैगर्दा खुसी लागेको छ ।’

सो अवसरमा उपमन्त्री चिङले राष्ट्रपति सि जिङ पिङको अध्यक्ष प्रचण्डप्रति न्यानो अभिवादन रहेको सन्देश सुनाएका थिए । उनले ठूला कम्युनिष्ट पार्टीहरुको एकताबाट देशमा स्थायीत्व कायम भएकोमा बधाई दिए । उपमन्त्री चिङले नेपाल र नेपाली जनताको प्रगति र समृद्धिका लागि चीन सदैव तयार रहेको बताए । ‘बेल्ट एण्ड रोड इनिसेटिभ’का लागि चौतर्फी वातावरण तयार भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्