इमरान खानले ११ अगस्तमा शपथ लिने, घेराबन्दी गर्ने तयारीमा विपक्षी

इस्लामाबाद, परम्परागत राजनीतिक विरासतलाई तोड्दै पाकिस्तानमा उदय भएका पिटिआईका अध्यक्ष इमरान खानले आउँदो अगस्त ११ का दिन प्रधानमन्त्री पदको शपथ लिने भएका छन् ।

इमरानले ब्रिटिशबाट स्वतन्त्र भएको दिन अगस्त १४ अगाडि नै शपथ लिएर १४ तारिखका दिन देशवासीका नाममा सम्बोधन गर्ने तयारी रहेको रेडियो पाकिस्तानले जनाएको छ ।

इमरान खानको पार्टीले एकल बहुमत ल्याउन नसकेपनि साना पार्टीहरुको सहयोगमा उनी प्रधानमन्त्री बन्ने छन् । आँकलन गरिए अनुसार, ६ सीट भएको मुताहिदा कौमी मुभमेन्ट पाकिस्तान, दुई सीट भएको द ग्रान्ड एलायन्स, चार सीट भएका पिएमएल–कैद र बलुचिस्तान अवामी पार्टी समेत निर्दलीय सांसदले इमरानलाई समर्थन दिन सक्ने देखिन्छ । यी सबै मिलाएर बहुमतका लागि आवश्यक १३७ सीट पुग्छ ।

राष्ट्रिय एसेम्बलीमा नवाज शरीफको पाकिस्ता मुस्लिम लिग–नवाजको ६४ र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीको ४३ सीट रहेको छ । यी दुबैले इमरानलाई सत्तामा जान नदिन गठबन्धनको घोषणा गरेका छन् ।

इमरानको उदयलाई नयाँ पाकिस्तानको नारा दिएर चौतर्फी स्वागत गरिएपनि बहुमतको खेलका कारण उनले ढुक्कसँग काम गर्न सक्ने सम्भावना कम रहेको समेत यतिखेर चर्चा छ । यद्यपी ठूला दुई दलबाहेक अन्य दलहरु स्थानीय र निश्चित जनसंख्यालाई समेटने दल भएकोले उनीहरुको स्वार्थ पुरा भएको अवस्थामा इमरानलाई काम गर्न अप्ठ्यारो नपर्ने देखिन्छ ।

पार्टी सीट
पीटीआई 116
मुताहिदा कौमी मूवमेंट पाकिस्तान 06
पाकिस्तान मुस्लिम लीग-कैद 04
बलूचिस्तान अवामी पार्टी 04
ग्रेंड डेमोक्रेटिक अलायंस 02
निर्दलीय 05
कुल 137

कमेन्ट गर्नुहोस्