निर्मल निवास खाली हुँदै, बुधबार पूर्वराजा थाइल्यान्ड जाने

काठमाडौं, साउन १५ । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लागेका बताइएको छ ।

पूर्वराजा शाहका साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका छन् ।

अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगि सकेकी छन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी थिइन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस भने नेपालमै बस्ने भएका छन् ।

पछिल्लो समय धर्मकर्ममा लागेका पारस साउनभर विभिन्न शिवमन्दिर दर्शन गर्न व्यस्त देखिएका छन्। पारस दर्शनका लागि खप्तड जाने तयारीमासमेत रहेका आजको नेपाल समाचारपत्रले लेखेको छ ।

समाचारका अनुसार पारसबाहेकका सपरिवार थाइल्यान्ड जाने भएपछि केही समय निर्मल निवास खाली हुने भएको छ । पूर्वराजा ज्ञानेन्द्र भदौ २ गते नेपाल फर्कने गरी थाइल्यान्ड जान लाग्नुभएको निर्मल निवास स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्