स्थानीय तहलाई कर्मचारी समायोजनमा पहिलो प्राथमिकता

काठमाडौं, साउन १५ । सरकारले स्थानीय तहमा कर्मचारीको पदपूर्ति गर्ने हिसाबले समायोजनको प्रकृया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमध्ये स्थानीय तहलाई प्राथमिकतामा राखेर समायोजन प्रक्रिया अघि बढाएको प्रवक्ता सुरेश अधिकारीले बताए । मन्त्रालयले आइतबार ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ ।

प्रवक्ता अधिकारीका अनुसार भर्खरै नियुक्त ८० शाखा अधिकृत कर्मचारीलाई रिक्त स्थानीय तहमा पठाइएको छ । अझै करिब सय शाखा अधिकृत स्थानीय तहका लागि अपुग छन् । दैनिकजसो कर्मचारीलाई स्थानीय तहमा पठाइने पनि मन्त्रालयले जनाएको छ । यस अघि मन्त्रालयले केन्द्रबाट ४ सय ६१ जना कर्मचारी स्थानीय तहमा खटाएको थियो ।

जनताको सबै भन्दा नजिक रहेर काम गर्ने स्थानीय तहमा कर्मचारीको अभावले स्वीकृत कार्यक्रम समेत गर्न नसकेको पाइएको छ । मन्त्रालयले कर्मचारी समायोजनमा स्थानीय तहलाई प्राथमिकतामा राखेको छ ।

कर्मचारी समायोजनमा निकै जटिलता रहेकोले त्यसको गृहकार्य गर्दै एक महिनापछि तीब्र गतिमा कर्मचारी समायोजन प्रक्रिया शुरु हुने पनि मन्त्रालयले जनाएको छ । तीनै तहको दरबन्दी स्वीकृत भइसकेकाले आउदो भदौदेखि समायोजन प्रक्रिया शुरु गरिने बताइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्