३६ महिला र बालबालिका आइएसको अपहरणमा

बेरुत, साउन १५ । इस्लामिक स्टेट्स आतङ्ककारी समूह (आइएस) ले सिरियाको दक्षिणी भागमा पर्ने स्वेदा प्रान्तमा ३६ जना महिला र बालबालिका अपहरण गरेको छ । मानव अधिकारवादी समूहले ३६ महिला तथा बालबालिका आइएसको अपहरण गरेको सोमबार जानकारी दिएको छ ।

केही दिनअगाडि मात्र इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी स्वेदा प्रान्तमा २५० भन्दा बढीका मृत्यु भइसकेको छ । यी आक्रमणहरूमा मारिएका व्यक्ति आधाभन्दा बढी सर्वसाधारण भएका अब्जरभेटरी प्रमुख रामी अब्देल रहमानले बताएका थिए।

सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा प्रान्तका केही दिनदेखि लगातार आत्मघाती आक्रमण, गोलाबारी र अपहरण जस्ता घटना जारी रहेको छ । सिरियामा सन् २०११ को मार्च महिनादेखि शुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट तीन लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मकरूपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो ।

सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको थियो । विश्वका महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र रुस तथा युरोपेली युनियन आबद्ध मुलुकहरू र अरब मुलुकको राजनीतिक, आर्थिक, सामरिक तथा हातहतियारको प्रत्यक्ष, अप्रत्यक्ष सहयोगका कारण यहाँको गृहयुद्धबाट ठूलो मानवीय क्षति पुगेको हो । गृहयुद्धको चपेटामा परेर लाखौँको सङ्ख्यामा मानिस घाइते हुनाका साथै लाखौँ सर्वसाधारण देश बाहिर शरणार्थी बन्न बाध्य भएका छन् । रासस÷एएफपी

कमेन्ट गर्नुहोस्