‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण हुने !

तेह्रथुम, साउन १८ । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय पार्क’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त पार्क निर्माण गर्ने योजना अघि सारेका हुन् ।

उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । पार्कमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिनेछ ।

पार्कभित्र आकर्षक बोट विरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने ध्येयले पार्क निर्माणको योजना बनाइएको उनले जानकारी दिए ।गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष रु १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । पार्क निर्माणका लागि पहिलो वर्ष डिपीआर तयार गरी काम शुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो ।

गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक पार्क कतै पनि निर्माण नभएकाले पार्क निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बूले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा उक्त पार्कका लागि रु ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा रु ४० लाख मात्रै खर्च गरेको थियो ।

गाउँपालिकाले भ्यू-टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू-पार्क निर्माणलगायत योजनाका लागि रु ९० लाख विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता नेपालीले जानकारी दिए । -रासस

कमेन्ट गर्नुहोस्