Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दरबार हाइस्कूल भवनको शिलान्यास

काठमाडौँ । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ ।

विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पुर्याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । शुक्रबार यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरे ।

ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्ने छ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्ने छन् । २० महिनाको अवधिमा करीब रु ८५ करोड लागतमा भवन बन्ने छन् ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताए । उनले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले तोकिएको समयमा विद्यालय भवन गुुणस्तरीयरुपमा तयार हुनेमा आफू विश्वस्त रहेको चर्चा गर्दै शैक्षिक उन्नयनमा दरबार हाइस्कूलको भूमिका अहम रहेको छ भने ।

नेपालका लागि चीनका राजदूत यु होङ्ले चीनले भूकम्पले क्षति पुर्याएका नेपालका संरचनालाई पुनःनिर्माण गर्न सहयोग गरेका २५ वटा परियोजनामध्ये हालसम्म दुईवटा सम्पन्न भएका, १७ वटा निर्माणाधीन अवस्थामा रहेका र छ वटाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

उनले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको चर्चा गर्दै नेपालमा तीन तहको निर्वाचन सम्पन्न भई राजनीतिक स्थायित्व आएकामा चीन खुशी व्यक्त गर्दछ भने ।

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा देशकै पहिलो विद्यालय स्थापना भएको थियो । शुरुमा विद्यालयमा पढ्न राणा प्रधानमन्त्रीले नै इच्छ्याइएको व्यक्ति हुनु पर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि जनताको छोराछोरीले विद्यालयमा प्रवेश पाएका थिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: