Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चौरजहारी अस्पताल तोडफोड, तीन राउन्ड हवाई फायर, लापरवाहीले महिलाको मृत्यु भएको आरोप

काठमाडौँ — अस्पतालले बिरामीलाई गलत सूई लगाउँदा मृत्यु भएको भन्दै आफन्तहरुले चौरजहारी अस्पतालमा तोडफोड गरेका छन् ।

जाजरकोट भेरी नगरपालिका १३ कुदुकी २८ वर्षीया यशोधा मल्ल आरसीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित उनका आफन्तले अस्पतालको इमर्जेन्सी, ढोका तथा काउन्टरमा तोडफोड गरेका हुन्।

अहिले पनि चौरजहारी अस्पतालमा मृतकका आफन्तले ढुङ्गामुढा गरिरहेका छन्। अस्पताल परिसरमा प्रहरी छ। प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गामुढा गरिरहेकाले प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरेको छ।

प्रहरीको उपस्थिति संख्या कम भएकाले अस्पतालमा थप क्षति हुने र भर्ना भएका अन्य बिरामी समस्यामा पर्ने सम्भावना बढेको अस्पतालले बताएको कान्तिपुर अनलाईनले जनाएको छ। अनलाईनका अनुसार, अस्पतालमा स्वास्थ्यकर्मी नभएकाले अन्य बिरामीको हेरचाहमा समस्या देखिएको छ।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी यशोधा मृगौला र पत्थरीको बिरामी थिइन्। रोगले च्यापेपछि उनका आफन्तले जिल्ला बाहिर लिन चाहेका थिए। उनलाई जिल्ला बाहिर लिन मगाइएको हेलिकप्टर अवतरण भइसकेपछि मात्रै बिरामीको मृत्यु भइसकेको खबर आफन्तलाई दिइएको थियो। मृत्युको खबर पाउनासाथ आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।
उनीहरुले गलत सुई लगाइएपछि बिरामीको मृत्यु भएको आरोप लगाएका छन्। अस्पतालका डाक्टर कालेव बुढाले स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु नभएको दाबी गरे।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: