Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चिडियाखाना अब नयाँ भान्साघर

सञ्चिता घिमिरे, ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो ।

भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइरालाले बताए ।

“ चिडियाखानामा अध्ययन÷अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन् । ” उनी भन्छन्, “साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन । आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज भएको छ ।”

चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन् । मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ । एक दशक पहिलेदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो । राणाकालमा बनेका पुराना खोर सबै हटिसकेका छन् । चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोर मात्र बनाउन बाँकी छ ।

चिडियाखानाको मुख्य भान्सासँगै जनावरका खोर, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको व्यवस्थापक डा. चिरञ्जीवी खरेलल बताए । उनले भने, “साठी प्रतिशत पुराना संरचना पुनःनिर्माण भइसकेका छन्। जीर्ण भइसकेका र समयानुकूल नभएका खोर हटाएर हामीले आधुनिक खोर बनाइरहेका छौँ ।”

चिडियाखानामा सूचना प्रविधिलाई डिजिटल बनाउने तयारी भइरहेको छ । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ ।

पहिले फोहोरले ढाकिएका गोही अब सफा बनाउन स्वचालित उपकरणले पानीले गोही सफा गर्ने काम भइरहेको छ । विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ ।

नेपाल सरकार र कोष बीच ३० वर्षका लागि संरक्षण गर्ने सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख मानिस अवलोकन गर्न आउँछन् । एक सय चौबिस प्रजातिका ८३७ जनावर यहाँ छन् । यहाँ स्तनधारी, घस्रने, माछा, चरालगायतका प्रजातिका जनावर छन् ।

नेपालको एक मात्रै यो चिडियाखाना विस्तारको योजनासमेत अघि बढेको छ । सरकारले सूर्यविनायकस्थित जंगलमा प्राणी उद्यान केन्द्र सञ्चालनको तयारी गरिरहेको छ । राणा प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत मनोरञ्जनका लागि स्थापना गरेको चिडियाखाना नै सदर चिडियाखाना भएर सर्वसाधारणका लागि समेत खुल्ला गरिएको थियो । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: