नेकपाका प्रवक्ता नारायणकाजीकाे राजीनामा के भयाे ?

काठमाडौं, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक विभिन्न निर्णय गर्दै सकिएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय आजको बैठकले गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले यसअघि नेकपा एमालेको केन्द्रीय मुख्यालय रहेका धुम्बाराहीलाई नेकपाको मुख्यालय बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसैगरी बैठकले यसअघि नेकपा माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपाको सचिवालयले बैठक बारे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सञ्चारकर्मीलाई भने, ‘तल्लो तहमा हुने एकताको क्रममा संघीय र प्रादेशिक संसदका कुनैपनि सांसदलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनैपनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय भएको छ ।’

श्रेष्ठले भने, ‘विधान तथा नियमावलीलाई अझ व्यवस्थित र संगठन सञ्चालनको आचार संहिता निर्माणका लागि सुवाष नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दशन शर्मा र बेदुराम भूषाल रहेको कार्यदल गठन भएको छ ।’

समासमयिक विषय, पार्टीका आगामी कार्यक्रम र संगठन विस्तार, र सरकारलाई थप प्रभावकारी बनाउन आगामी भदौं ८–९ स्थायी समितिको बैठक बस्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए । साथै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आफ्नो नेतृत्वमा पार्टीका एउटा प्रतिनिधि मण्डल चीन जाने निर्णय पनि आजको सचिवालय बैठकले गरेको उनले बताए।

केही समय अघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनशनरत डा गोविन्द केसीसँग भेटघाट गरेको विषयमा असन्तुष्टि जनाएपछि श्रेष्ठले नेकपाको पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । यधपि उनको राजीनामा अझै स्वीकृत भएको छैन र पार्टीका दुबै अध्यक्षले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्