Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाका सांसदले पार्टीको मुख्य जिम्मेवारी नपाउने !

काठमाडौं, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संघ र प्रदेशका सांसदलाई कार्यकारी जिम्मेवारी नदिने भएको छ । नेकपाको जिल्लाभन्दा तलका कमिटीमा कुनैपनि सांसदले अब अध्यक्ष र सचिव जस्ता प्रमुख जिम्मेवारी नपाउने भएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपाको सचिवालयले बैठक बारे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले सञ्चारकर्मीलाई भने, ‘तल्लो तहमा हुने एकताको क्रममा संघीय र प्रादेशिक संसदका कुनैपनि सांसदलाई जिल्ला पार्टी वा त्यो भन्दा तलको कुनैपनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने निर्णय भएको छ ।’

त्यसैगरी आजकै बैठकले नेकपाको मुख्यालय धुम्बराही र पार्टीका जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु पेरिसडाँडामा रहने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘विधान तथा नियमावलीलाई अझ व्यवस्थित र संगठन सञ्चालनको आचार संहिता निर्माणका लागि सुवाष नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भूषाल, जनार्दशन शर्मा र बेदुराम भूषाल रहेको कार्यदल गठन भएको छ ।’

समासमयिक विषय, पार्टीका आगामी कार्यक्रम र संगठन विस्तार, र सरकारलाई थप प्रभावकारी बनाउन आगामी भदौं ८–९ स्थायी समितिको बैठक बस्ने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए । साथै चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा आफ्नो नेतृत्वमा पार्टीका एउटा प्रतिनिधि मण्डल चीन जाने निर्णय पनि आजको सचिवालय बैठकले गरेको उनले बताए।

केही समय अघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनशनरत डा गोविन्द केसीसँग भेटघाट गरेको विषयमा असन्तुष्टि जनाएपछि श्रेष्ठले नेकपाको पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । यधपि उनको राजीनामा अझै स्वीकृत भएको छैन र पार्टीका दुबै अध्यक्षले राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: