कम्बोडियाली अामनिर्वाचन: सबै सीटमा एउटै पार्टी विजयी !

नोम्पेन्ह, साउन २६ । कम्बोडियामा हालै सम्पन्न संसदीय निर्वाचनमा सत्तारढ दललाई प्रचण्ड बहुमत प्राप्त भएको छ । प्रधानमन्त्री समडेच टेचो हुनसेनको दलले प्रचण्ड बहुमत पाएको हो ।

गत जुलाई २९ मा सम्पन्न भएको आम निर्वाचनको शनिबार प्राप्त भएको अनौपचारिक परिणामअनुसार प्रधानमन्त्री हुनसेन कै सत्तारुढ दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी)लाई अत्यधिक बहुमत प्राप्त भएको बताइएको छ । यो परिणामलाई यहाँको निर्वाचन आयोगले औपचारिकता दिन भने बाँकी नै छ ।

सो निर्वाचनमा २० वटा दलले प्रतिस्पर्धा गरेका गरेका थिए । ती मध्ये सिपीपीले अत्यधिक बहुमत ल्याएको हो ।  कम्बोडियाको राष्ट्रिय निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको परिणामअनुसार प्रधानमन्त्री हुन सेनको दल सिपीपीले ४८ लाख आठ हजार मत प्राप्त गरेको छ ।

यो मत कम्बोडियाली संसदीय निर्वाचनमा खसेको सदर मतको ७६.८४ प्रतिशत हुन आउँछ । यो दुई तिहाई भन्दा पनि बढी हो । उता राजकुमार नरोदम रनारिधको फनसिनपेकको दलले भने जम्मा तीन लाख ७४ हजार अर्थात ५।८८ प्रतिशत मत मात्र प्राप्त गरेको छ ।

यो नै कम्बोडियाको यो पछिल्लो निर्वाचनमा निकटतम मत ल्याउने प्रमुख प्रतिपक्षी दल हो । त्यसपछि मत ल्याउने अर्को दलको मत ४.८६ प्रतिशत मात्र हो । निर्वाचन आयोगले यस निर्वाचनको औपचारिक परिणाम भने यही अगष्ट १५ मा सार्वजनिक गरिने जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

संसदका १२५ स्थानमध्ये सबै सिटमा नै उक्त दलले जित हासिल गरेको छ । सत्तारुढ दलले नै सबै सिटमा जित हासिल गरेको अनौपचारिक परिणाम आएपछि विपक्षी दलको भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

६७ वर्षीय प्रधानमन्त्री कम्बोडियामा गएको ३३ वर्षदेखि निरन्तररुपमा सत्तामा छन् । अब यो परिणामपछि पनि आगामी पाँच वर्षका लागि उनी नै देशको कार्यकारी प्रमुखको नेतृत्व गर्ने निश्चित भएको छ ।

प्रधानमन्त्री हुनसेनले केही हप्तामात्र अघि आगामी सेप्टेम्बर महिनाको ५ तारिखमा नयाँ संसद् बन्ने र नयाँ संसद्ले आगामी नयाँ सरकार निर्माणका लागि मतदान गर्नेछ भनी सार्वजनिक गरेका थिए ।

कमेन्ट गर्नुहोस्