Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब तीन दिन श्रम गरे एक दिन कैद कट्टा !

काठमाडौं, साउन २८ । नयाँ मुलुकी ऐनले कैदीलाई शारीरिक श्रममा लगाउन पाउने व्यवस्था गरेको छ । दफा ३१ मा कैदीलाई शारीरिक श्रममा लगाउन सकिने व्यवस्था  छ ।

ऐनमा भनिएको छ,‘तीन वर्ष वा तीन वर्षभन्दा बढी कैदको सजाय पाएको १८ वर्षभन्दा बढी उमेरको र शारीरिक रुपमा स्वस्थ्य रहेको कसूरदारले चाहेमा निजलाई कारागारले सार्वजनिक कामको लागि शारीरिक श्रममा लगाउन सक्नेछ ।’ कसूरदारले प्रति तीन दिन श्रम गरे बापत थप एक दिनको दरले कैद कट्टा हुनेछ ।

गम्भीर फौजदारी अभियोगमा कैद भुक्तान गरिरहेकाहरुको कैद मिनाहा गर्न सक्ने प्रावधान पनि ऐनमा राखिएको छ । आगामी १ भदौबाट लागू हुने मुलुकी (संहिता) ऐन-२०७४ को दफा ३७ मा कैद कट्टा सम्बन्धि व्यवस्था छ । नयाँ पत्रिकामा खबर छ ।

जन्म कैद, जबरजस्ती करणी, भ्रष्टाचार, मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागू औषधको ओसारपसार तथा कारोबार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार र मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएकाको पनि कैद मिनाहा हुने भएको छ । त्यसका लागि कसूरदारले कैद भुक्तान गरिरहँदा उसको चालचलनमा सुधार आए र तीन चौथाई कैद सजाय भुक्तान गरे बाँकी कैद मिनाहा हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: