Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कालीगण्डकीले विद्यालय बगायो

म्याग्दी, साउन ३० । कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय बुधबार बिहान कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।

केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ ।

“क्षतिबारे गाउँपालिका र जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराएको छु,” फगामीले भने । भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ । कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: