Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक हजार प्रतिशत कर वृद्धि गरेको महानगर पछि हट्यो, करको दरमा भारी छुट

काठमाडौं, साउन ३० । कर वृद्धिको चौतर्फी विरोध भएपछि विराटनगर महानगरले करको दर घटाएको छ । महानगरले ‘आर्थिक ऐन २०७५’ मा संशोधन गरी कर संशोधन गरेको हो ।

महानगरले नागरिकता सिफारिसमा ५० रुपैयाँ सेवा शुल्कलाई संशोधन गरी निःशुल्क बनाएको छ । यस्तै जन्म, विवाह दर्ता, मृत्यु दर्ता ३५ दिनभित्र गर्नेलाई निस्शुल्क र त्यसपछि गर्नेलाई ५० रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।

महानगरले मृत्यु दर्ता र छोरीको जन्म दर्तामा भने ३५ दिनपछि पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ । यसअघि उक्त शीर्षकमा ५ सय शुल्क निर्धारण गरिएको थियो ।

यस्तै ‘सम्बन्ध विच्छेदको सिफारिस शुल्कलाई तीन हजारबाट घटाएर ५ सय कायम भएको छ । स्थायी बसोबास, नाम, थर, जन्ममिति, संशोधन सिफारिसमा ५ सयलाई घटाएर तीन सय तोकिएको छ । यस्तै वैवाहिक अंगीकृत नागरिकता सिफारिस शुल्कलाई ५ हजारबाट घटाएर ३ सय कायम गरिएको छ ।

संघ संस्था दर्ता सिफारिस शुल्कमा पनि संशोधन गरिएको छ । नगर, वडास्तरीय गैरसरकारी संस्था दर्तामा यसअघि लिँदै आएको दुई हजारलाई एक हजार र र जिल्लास्तरीयलाई तीन हजारबाट दुई हजार तोकिएको छ ।

महानगरले नक्सा पास भएका घर निर्माण गर्न काठको सिफारिसका लागि यसअघि तोकिएको दुई हजार पाँच सय शुल्कमा संशोधन गरी दुई हजार निर्धारण गरेको छ ।

महानगरले घरबाटो सिफारिसमा कच्ची बाटोमा यसअघिको दुई हजारलाई संशोधन गरी एक हजार पाँच सय शुल्क तोकेको छ । महानगरले सम्पत्ति कर, ज्वेलरी व्यवसाय वार्षिक करमा समेत परिमार्जन गरेको छ ।

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीका अनुसार, महानगरको मापदण्ड पूरा गर्नुपर्ने, २० वर्षदेखि वृद्धि नभएको, महानगरको विकास गर्न कर वृद्धि गर्नुपर्ने बाध्यता थियो । तर, महानगरवासीको आग्रहमा करको दरमा संशोधन गरेको बताइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: