खोजियो जोरी !
खोजियो जोरी, मृत्युसँगै खोजियो !
भिड्ने मेरो कुनै चाहना कहाँ थियो,
घुम्तीमा भेटैंला वाचा नै कहाँ थियो।
बाटो छेकेर ऊ सामुन्ने उभ्भियो,
लाग्यो जीवनभन्दा ऊ ठुलो भैदियो ।
मृत्युको आयु कति एक क्षण मात्र हो,
जिन्दगी शृंखला चार दिन हैन हो ।
म जिएँ तृप्त भइ, मन लगाई मरुँ,
फर्की आउँछु भने, जाँदा किन म डरूँ?
ए मृत्यु तँ चोरी चोरी न आ,
सामुन्ने आई प्रहार गर छातीमा ।
मृत्युबाट बेखबर, जिन्दगीको यो सफर,
साँझको यो कालिमा, रात बाँसुरीको स्वर।
यस्तो त हो कहाँ दुःख नै छैन क्यै,
पीर आफ्ना बिरानाका कम छन् र खै ?
प्रेम धेरै बिरानाहरूले गरे,
आफ्नासँग गुनासो रहेन कुनै।
हर चुनौतीसँग म जुझे के भनूँ,
आँधीमा जल्न लाए दियालाहरू।
आज आँधी-हुरी-हुण्डरी सामुमा,
नाउ भुमरीको घरमा भयो पाहुना।
तर्न सक्छु म भुमरी छ यो हौसला
हुण्डरी देखि मन झन् अटल भइदियो
खोजियो जोरी मृत्युसँगै खोजियो !
भावानुवाद: भुवन