Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सहिदको बलिदानीबाट नै कम्युनिष्ट बहुमतको सरकारः अध्यक्ष प्रचण्ड

रामेछाप, भदौ १ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको बताएका छन् । बिहिवार १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा संबोधान गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फालिएको र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । उनले सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको भन्दै सहिद परिवारका सदस्यलाई मन दरो पार्न समेत अनुरोध गरे ।

विश्व चर्चित रामेछापको दोरम्वा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको प्रचण्डको भनाई थियो । १५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीका २१ नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताए ।

तत्कालील सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति वार्ता चलिरहेका बेला राजनीतिक वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको आरोप छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा पनि गरेका छन् । काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष प्रचण्डले आश्वासन दिए ।

साथै, उनले सहिद परिवारका बालबच्चा र युद्धमा मारिएका दुवै पक्षको शिक्षा, दिक्षा र ब्यवस्थापनको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने प्रतिवद्धता गरे । निर्वाचन क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डले बताए । जनताले केही राहत पाउने गरि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउनेसमेत उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: