Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

थारु समुदाय सामुदायिक होमस्टे सञ्चालनका लागि सीप सिक्दै

रत्ननगर । दक्षिण चितवनको माडी थारु समुदाय सामुदायिक होमस्टे (घरबास) सञ्चालनका लागि सीप सिक्न थालेको छ ।

माडी नगरपालिका–३ बघौडामा होमस्टे सञ्चालनका लागि उनीहरुले विभिन्न क्षेत्रका होमस्टेको स्थलगत अध्ययन थालेका छन् । बघौडा सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महतोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टे, देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली होमस्टे तथा कावासोतीको अमलटारी होमस्टेको भ्रमण गरेर जानकारी लिएको बताए ।

“साह्रै राम्रो लाग्यो, थारु संस्कृति जोगाउन, जीविकोपार्जन गर्न होमस्टेले फाइदा नै गर्ने रहेछ,” उनले भने, “निम्नस्तरकालाई आम्दानी गर्न निक्कै सहयोगी हुने रहेछ ।” उनले छिट्टै माडी नगरपालिका–३ बघौडामा होमस्टे खोल्ने सोच बनाएको बताए । उनीसँगै बघौडाका अन्य थारु समुदाय पनि होमस्टे सञ्चलालनको बारेमा जानकारी लिन विभिन्न क्षेत्रका होमस्टेको भ्रमण गर्न थालेका छन् । माडी नगरपालिकालगायत विभिन्न सङ्घ संस्थाको सहयोगमा माडीमा पर्यापर्यटनको विकासका लागि होमस्टे थप्ने निर्णय भएपछि यहाँका थारु समुदायहरुको सक्रियता बढेको हो ।

माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपाने होमस्टेको बारेमा जानकारी नभएकाले उनीहरुलाई भ्रमण गराएको बताए । माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोको संयोजकत्वमा माडीका थारु समुदायसहितको सहभागितामा शनिबार ४९ जनाको टोलीले होमस्टेको अवलोकन भ्रमण गरेको छ । भ्रमण टोलीमा माडी नगरपालिका–३ का अध्यक्ष पुरन महतो, थारु कल्याणकारीणी चितवनका अध्यक्ष ललित चौधरी, नेपाल जनजाती महासङ्घ माडीका अध्यक्ष रामेश्वर महतो, पर्यटन विकास समिति माडीका सचिव गोविन्द न्यौपाने, सीप नेपालकी अध्यक्ष इन्दिरा विकलगायतको सहभागिता थियो ।

कृषि र इको पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा पर्यटन विकासका लागि थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकाल बताउँछन् । यसवर्ष माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गर्ने नगरपालिकाको योजना छ । मुख्यगरी थारु, बोटे र राईका होमस्टे थपिने ढकालले बताए ।

माडीको नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । माडी नगरपालिका–८ शिवद्धारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी होमस्टे निर्माण हुनेछन् । यसवर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायकोे १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा ८ राई होमस्टे निर्माण गर्ने योजना नगरपालिकाको छ । यस्तै शिवद्धारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित ९ थपेर २० पुर्याउने लक्ष्य राखिएको छ । चितवन निकुञ्जसँगै जोडिएको छ माडी विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले धार्मिक पर्यटनका हिसाबले अब्बल छ ।

यहाँ भारतबाट समेत पर्यटक आएर पूजा गर्ने परशुराम कुण्ड, पाँच पाण्डवलगायत धार्मिक क्षेत्र छ । जङ्गलमा आश्रित समुदायलाई होमस्टेमार्फत् वैकल्पिक आयआर्जनमा सहभागी गराउन सके वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ ।

अर्नाको वंश विस्तारमा सफलता

अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई सफलता मिलेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दुई वर्षअघि चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा जन्माएसँग वंश विस्तारमा सफलता मिलेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताएका छन् ।

विसं २०७३ मा कोशीबाट ल्याएर चितवन निकुञ्जको पूर्वी सेक्टरस्थित पुरानो पदमपुरको खुलाखोरमा राखिएको अर्नाले साउनको ३१ गते पाडी जन्माएको फेला परेको थियो । “अर्काे ठाउँबाट ल्याएको अर्नाले बच्चा जन्माउनु वंश विस्तारका लागि ठूलो सफलता हो,” खड्काले भने, “अझै अर्नाको सङ्ख्या बढाउनुपर्छ, हामी सक्दो प्रयास गरिरहेका छौँ ।”

चितवन निकुञ्जमा अर्नाले बच्चा जन्माएको पहिलो हो । पाडी स्वस्थ रहेको र आमाको दूध खाइरहेको अनुगमनमा गएका निकुञ्जका कर्मचारी विजय चौधरीदले बताए । निकुञ्ज स्थापना हुँदा चितवनमा अर्ना थिएन । त्यसैले प्रजातिको संरक्षणका लागि कोशीबाट अर्ना र शुल्लाफाँटाबाट बाह्रसिङ्गे ल्याइएको हो । चितवनबाट बर्दिया शुल्लाफाँटालगायत क्षेत्रमा गैंडा पठाउने गरिएको छ ।

प्रजाति संरक्षणका लागि वन्यजन्तुको स्थानान्तरण गर्ने गरिएको गरिएको निकुञ्जले जनाएको छ । यो सँगै निकुञ्जमा अर्नाको सङ्ख्या १० पुगेको चितवन निकुञ्जका प्रमुख बेदकुमार ढकालले बताए । यहाँ कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथी गरी तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । रोगव्याधी र बाघको आक्रमणलगायत कारणले छ अर्ना मरिसकेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सूचना अधिकारी सन्तोष भट्टराईले पशु चिकित्सकसहितको टोलीले अहिले पनि अर्नाको नियमित अनुगमन, रेखदेख र खुलाखोरको व्यवस्थापन गर्दै आइरहेको बताएका छन् । संरक्षणकर्मीका लागि ठूलो खुशीको कुरा भएको उनले बताए । निकुञ्ज विभागले अझै खुला खोर बढाएर अर्ना थप्ने तयारी गरेको छ । “कम्तिमा २५-३० अर्ना नभएसम्म बाघले मार्न सक्छ, झुण्डमा भए बाघले छिट्टै आक्रमण गर्न सक्दैन, सङ्ख्या नपुग्दासम्म खोरमा नै राखिन्छ,” खड्काले बताए । संरक्षणमा चुनौती भने प्रशस्तै छ । बाढी तथा रोगव्याधी भयो भने संरक्षणमा समस्या पर्छ । गएको वर्षको बाढीले यहाँका सबै अर्नामा रोग देखिएको थियो । पछि औषधोपचार गरी दानापानी खुवाएर अर्ना बचाइएको थियो । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: