काठमाडौँ, भदौ ४। इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ ।
टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामै देशको नाम राख्न शुभकामना दिए ।
अध्यक्ष प्रचण्डले आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउँदै भने, “राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेट पश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए । व्यवस्थापक शाहीले अध्यक्ष दाहाल स्वयं पनि टेबुलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गरेको बताए ।
सो खेलमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल प्रशिक्षकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुँदैछन् । शनिबारदेखि शुरु भएको एशियाली खेलकूदमा नेपालसहित ४५ राष्ट्रले ४ सय ६५ खेलहरूमा भाग लिइरहेका छन् ।