Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

७ नं. प्रदेशमा टुंगियो एकता, अध्यक्ष र सचिवमा सहमति, इन्चार्जबारे पार्टी केन्द्रले निर्णय गर्ने

काठमाडौं, भदौ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटी एकीकरणको प्रक्रिया अन्तर्गत प्रदेश नं. ७ मा दुबै पक्षबीच सहमति भएको छ ।

एकताका लागि पार्टी सचिवालयको निर्णय अनुसार गठित चार सदस्यीय कार्यदलले प्रदेश अन्तर्गतका नौ वटै जिल्लामा सहमति कायम गरी प्रतिवेदन पार्टीमा बुझाएको हो ।

सहमति अनुसार, सात नम्बर प्रदेशका नौवटा जिल्लामध्ये चारवटा जिल्लामा पूर्व माओवादी केन्द्र र पाँच वटा जिल्लामा पूर्व नेकपा (एमाले)ले जिम्मेवारी पाएका छन् ।

यसरी जिम्मेवारी पाएका जिल्लामा अध्यक्ष हुने पक्षको सहइन्चार्ज हुने र सचिव हुने पक्षको इन्चार्ज समेत रहने सहमति भएको छ । ७ सदस्यीय कार्यालयमा भने अध्यक्ष हुने पक्षको चार र सचिव हुने पक्षको ३ रहने सहमति कायम भएको छ ।
यो सहमति अनुसार, कैलाली, बाजुरा, अछाम, डोटी र बैतडीमा तत्कालिन नेकपा (एमाले)ले अध्यक्ष तथा सहइन्चार्ज र माओवादी केन्द्रले सचिव तथा इन्चार्ज पाउने र दार्चुला, डडेल्धुरा, कञ्चनपुर तथा बझाङमा पूर्व माओवादी केन्द्रले अध्यक्ष तथा सहइन्चार्ज र एमालेले सचिव तथा इन्चार्जको जिम्मेवारी पाएका छन् ।

कार्यदलमा प्रदेशका बारेमा समेत सहमति भएको छ । जसअनुसार, प्रदेश कमिटि १८३ जनाको सिफारिस भएको छ भने कार्यदलले प्रदेशको अध्यक्षमा पूर्व नेकपा एमाले र सचिव नेकपा (माओवादी केन्द्र)बाट रहने निर्णयसहित सिफारिस गरेको छ ।

नेकपा (एमालेका तर्फबाट अध्यक्षमा कर्ण थापा र माओवादी केन्द्रका तर्फबाट सचिवमा लक्ष्मी जोशी (सुरज)को नाम सहमति भएको बताइन्छ ।

कार्यदलमा पूर्व नेकपा एमाले नेता भीम रावल, कर्ण थापा तथा नेकपा माओवादी केन्द्रबाट लेखराज भट्ट र लक्ष्मी जोशी (सुरज) कार्यदलमा रहेका छन् ।

प्रदेशको इन्चार्ज र सह इन्चार्जको बारेमा भने कार्यदलको क्षेत्राधिकार नभएको कारण कुनै निर्णय भएको छैन ।
कार्यदलले प्रतिवेदन बुझाएपछि सामाजिक सञ्जालमा इन्चार्ज र सहइन्चार्जका बारेमा सहमति भएको प्रचार गरिएपनि त्यो नभएको कार्यदलले जनाएको छ । कार्यदलका अनुसार, छलफलका क्रममा नेताद्वय भीम रावल र लेखराज भट्टको जिम्मेवारीका विषयमा चर्चा चलेपनि यसविषयमा अधिकार क्षेत्र नभएको कारण कुनै निर्णय भने भएन ।

कार्यदलको बैठकमा तल्लो कमिटिमा चलेको अभ्यास तथा अन्य प्रदेश तथा कमिटिमा चलेको अभ्यासका आधारमा इन्चार्ज तथा सह इन्चार्जको टुंगो लगाउने सहमति भएको हुने बताए । यसबारेमा पार्टी नेतृत्वले नै उचित निर्णय लिने कार्यदलले जनाएको छ ।

प्रदेशको राजनीतिमा स्थान हासिल गर्न नसकेका र रावल तथा भट्टसँग असन्तुष्ट केही व्यक्तिले दुबै नेताबीच इन्चार्जका विषयमा विवाद भएको प्रचार गर्न खोजेको भन्दै कार्यदलका ती सदस्यले व्यक्तिगत जिम्मेवारी भन्दा प्रदेशको हित र स्वार्थ प्राथमिकतामा राखेर सबै तहको एकता सम्पन्न गरिएको जानकारी दिए ।

“हामीभित्रको विवाद देखाएर केन्द्रले हामीलाई नै पेल्ने स्थितिको अन्त्य गरेका छौं । हामीले नमूना बनेर सहमतिमा एकता सम्पन्न गरेका छौं । अब इन्चार्जको विषयमा पनि कुनै विवाद छैन ।”

प्रदेशका जिल्ला एकीकरणको क्रममा सचिवको जिम्मेवारी प्राप्त गर्नेले इन्चार्ज लिने र अध्यक्षको जिम्मेवारी हुँदा सो पक्षले सह इन्चार्ज पाउने सहमति गरिएको छ । सोही सहमति प्रदेशको हकमा लागु गर्दा प्रदेशको अध्यक्ष पदमा पूर्व नेकपा

एमाले रहेको हुँदा पूर्व माओवादी केन्द्रका नेता लेखराज भट्ट प्रदेश इन्चार्ज बन्ने देखिन्छ ।

प्रदेशको सचिवालयमा भने सबै जिल्ला र समावेशी प्रतिनिधित्व समेटिने गरी कार्यक्षमता तथा अनुभवका आधारमा छनौट गरिएको कार्यदल सदस्यले जनाए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: