गृहमन्त्रीसँग जापानी राजदुतको भेट, के भयो कुरा ?

काठमाडौं, भदौ ६ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि जापानका राजदूत मासामिचि साइगोले शिष्टाचार भेटवार्ता गरका छन् । गृह मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको बताइएको छ ।

भेटमा गृहमन्त्री थापाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षभन्दा बढी भइइसकेको चर्चा गर्दै सुरक्षा निकायलगायत अन्य क्षेत्रमा जापानले गर्दै आएको सहयोगप्रति राजदूत साईगोमार्फत जापान सरकारलाई धन्यवाद व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापाले नेपालको पूर्वाधार, उर्जा, पर्यटन, कृषी लगायतको क्षेत्रमा जापानको सहयोग र लगानीका लागि समेत राजदुतसँग आग्रह गरे । उनाँले नेपालमा लगानी गर्ने अहिले उपयुक्त अवसर रहेको भन्दै सुरक्षाको प्रत्याभूति दिलाइने प्रतिवद्धता व्यक्त गरे ।

गृहमन्त्री थापाले केही समयअघि जापानमा आएको बाढीका कारण त्यहाँँ ठुलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरे ।

राजदुत साइगोले आपूु गत जुन महिनामा मात्रै नेपालको राजदुतको रुपमा कार्यभार सम्हालेको गृहमन्त्री थापालाई जानकारी दिँदै आफ्नो कार्यकालमा नेपाल र जापानबीचको सम्बन्ध थप मजबुत बनाउने बताए ।

उनले नेपाललाई जापानले दिँदै आएको सहयोग निरन्तर रहने भन्दै सो सहयोग थप गर्न आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । राजदुत साइगोले आफुलाई कृषी क्षेत्रको समेत अनुभव रहेको भन्दै सो अनुभवको आधारमा नेपालको कृषी क्षेत्रको विकसका लागि समेत पहल गर्ने बताए ।

नेपालमा बिभिन्न कामका लागि बसिरहेको तथा नेपाल भ्रमणमा आउने जापानीहरुको सुरक्षामा ध्यान दिन समेत उनले गृहमन्त्री थापासँग आग्रह गरे ।

जापानी लगानीकर्तालाई नेपालमा लगानी गराउन आफ्नो कार्यकालमा सक्दो पहल गर्ने राजदुतले बताए । गृहमन्त्री थापाले राजदुत साईगोलाई कार्यकाल सफलताको लागि शुभकामना समेत दिए ।

कमेन्ट गर्नुहोस्