Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बाँकेमा युरिया मलको अभाव

बाँके, भदौ ७ । चाहिएकै बेला जिल्लामा मल अभाव भएको छ । कृषि सामाग्री कम्पनीले समयमा मल झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् । धानखेतीमा मल हाल्ने बेलामा नपाएपछि भारतीय बजारबाट मल तस्करी हुन थालेको छ ।

कृषकहरू भारतबाट अवैधरूपमा आयात गरिएको गुणस्तरहीन मल प्रयोग गर्न बाध्य छन् । सीमानाकाबाट लुकिछिपी ल्याइएका मल सीमावर्ती बजारभन्दा दोब्बर मूल्यमा बिक्री भइरहेको छ । खासगरी सीमा क्षेत्रमा गुणस्तरहीन मलको प्रयोग बढी हुने गरेको छ ।

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा हाल एक बोरा युरियासमेत मौज्दात छैन । केही मात्रामा डिएपी र पोटास मात्रै छ ।
कृषि र साल्ट ट्रेडिङमा आउने कृषक निराश भएर घर फर्किने गर्छन् । पन्ध्र दिनअघि नै सकिएको युरिया मल आउन अझै एक हप्ता लाग्ने निमित्त कार्यालय प्रमुख रमेशकुमार पौडलले बताए । “ किसान दैनिक युरिया मलका लागि आउँछन्, हामीसँग एक बोरा पनि छैन,” उनले भने ।

उनका अनुसार भारतको कोलकातामा रोकिएको मल केही दिनमै भैरहवा हुँदै नेपालगञ्ज ल्याइनेछ । जिल्लाका कोहलपुर, खजुरा, राप्तीपारिका किसान अनुदानको मल नपाएर महँगो मूल्यमा निजी पसल तथा भारतबाट मल किन्न बाध्य छन् । युरिया मल गत महिना ९०६ मेट्रिक टन बिक्री भएको देखिएको छ । धान खेतीका लागि थप ३०० मेट्रिक टन मल आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख पौडेलले बताए । सहकारीमार्फत् अनुदानको मल बिक्री हुँदै आएको छ ।

जिल्लामा गतवर्ष १०३ सहकारीले कृषि सामग्री कम्पनी लिमिटेडबाट मल खरिद गरेका थिए । कम्पनीले सहकारीलाई युरिया रु ७८३, डिएपी रु दुई हजार २३३, पोटास रु एक हजार ६३३ मा उपलब्ध गराउँदै आएको छ । आपूर्ति समितिको बैठकले उनीहरुको स्थान आधारमा भाडा निर्धारण गरेर बेच्दै आएका छन् । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: