Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ठूला उद्योग व्यवसायमा सहकारीले लगानी गर्नुपर्छ : मन्त्री ढुङ्गेल

दोलखा, भदौ ७ । जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ ।

जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार आयोजित रजत महोत्सव तथा भवन शिलान्यास समारोहमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सहकारीले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनुपर्ने बताए ।

सहकारीमा सुशासन र पारदर्शिता हेर्ने हो भने दोलखाको सहकारीको अध्ययन गर्नुपर्छ, उनले भने, “जिल्लाको दिगो विकासका लागि यहाँका सहकारीले लगानी विस्तार गर्नुपर्दछ ।”

सो अवसरमा मन्त्री ढुङ्गेलले साकोसद्वारा प्रकाशित मिलिजुली स्मृति पुस्तकको पनि विमोचन गरे ।

विसं २०६८ सालमा एक्सेस ब्राण्डका लागि प्रक्रिया शुरु गरेको मिलिजुलीलाई २०६९ सालमा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ट सहकारी घोषणा तथा २०७१ मा नेफस्कुनले नेपालकै उत्कृष्ट सहकारी घोषणा गरेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७१÷२०७२ मा आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ट करदाताको सम्मान तथा २०७४ सालमा एक्सेसको ब्रोञ्च ब्राण्ड पाएको साकोसले अहिले सिलवर ब्राण्ड लिने तरखर गरिरहेको साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।

समारोहमा दोलखाका सहकारी अभियन्ताहरु यज्ञराज ढुङ्गले, डीबी बस्नेत र गोकुलध्वज कार्की, मिलिजुली साकोसका संस्थापक अध्यक्ष रामदास श्रेष्ठ तथा पूर्वअध्यक्ष गङ्गासागर श्रेष्ठ र कृष्णबहादुर दाहाललाई सम्मान गरिएको थियो ।

विसं २०५० भदौ ७ गते २५ जना शेयर सदस्यले स्थापना गरेको मिलिजुली साकोसमा अहिले बालबचत सहित झण्डै २५ हजार सदस्य, कूल वासलात रु ८६ करोड ५४ लाख ५४ हजार ६९२, शेयर पूँजी रु सात करोड १० लाख, बचत रु ५८ करोड ६७ लाख १ हजार ७७७ र ऋण लगानी रु ७१ करोड १९ लाख ५५ हजार ९७० रहेको मिलिजुली साकोसका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिए ।

यसअघि मन्त्री ढुङ्गेलल साकोसको भवन शिलान्यास गर्नुभएको थियो । करीब रु ८ करोडको लगानीमा तीन वर्षभित्र पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य लिएको साकोसको उपाध्यक्ष कृष्णबहादुर गौतमले जानकारी दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: