अझैं ३ हजार विद्यालयमा शिक्षक दरबन्दी शून्य

काठमाडौं, भदौ ८ । देशभरका तीन हजार सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य भएको छ । कतिपय विद्यालयमा शिक्षक दरबन्दी शून्य हुनु र कतै भने अनावश्यक रूपमा शिक्षक एकै ठाउँमा थुप्रिँदा शैक्षिक सुधारमा समस्या देखिएको छ ।

शिक्षक दरबन्दी पुनर्वितरण सुझाब कार्यदलले संकलन गरेको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म अध्यापन हुने तीन हजार ५८ सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी शून्य देखिएको छ । आधारभूत तह ९कक्षा १-८० सम्मको कक्षा सञ्चालन भएका दुई हजार पाँच सय ५४ र पाँच सय चार माविमा शिक्षक दरबन्दी शून्य छ । आधारभूत विद्यालयमा साबिकको प्राविमा एक हजार चार सय ८३ र निमाविमा एक हजार ७१ मा विद्यालयमा शिक्षक दर्बन्दी नै छैन ।

असमान छ शिक्षक विद्यार्थी अनुपात
बिभिन्न जिल्लामा शिक्षक विद्यार्थी अनुपात निकै असमान छ । विद्यालय क्षेत्र सुधार योजनाले विद्यार्थी शिक्षक अनुपात हिमाली क्षेत्रमा ३०, पहाडमा ३५ र तराई तथा यपत्यकामा ४० रहनुपर्ने उल्लेख गरेको छ । हिमाली जिल्लामध्ये प्राविमा सबैभन्दा न्युनतम मनाङ र अधिकतम कालिकोटमा छ । सो तहमा मनाङको शिक्षक विद्यार्थी अनुपात ३.७ र कालिकोटमा ४९.७ छ ।

पहाडी जिल्लाहरुमा अनुपात कम पर्वतमा ११.९ र उपत्यकामा भक्तपुरमा १३.९ छ । तराईमा शिक्षक विद्यार्थी अनुपात झापामा २९.७ र अधिकतम सर्लाहिमा ७६.५ छ । माध्यमिक तहमा शिक्षक विद्यार्थी अनुपात सबैभन्दा कम मनाङमा ५.९ र सबैभन्दा बढि कैलालीमा ८३.३ छ । नयाँ पत्रिकामा खबर छ ।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षकहरुलाई पार्टीका नेता र शिक्षक संगठनका नेताहरुले चलाउन नदिएको बताए । शिक्षक बढी भएका ठाउँमाबाट निकालेर अर्को ठाउँमा लैजान नदिएकाले समस्या भएको उनको भनाई छ । दर्बन्दी नभए पनि राम्रा शिक्षक भएको ठाउँमा गुणस्तर राम्रो भएको बताए । शिक्षक दर्बन्दी भएमा अध्यापनमा सहज हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: