निर्मला हत्या छानबीनमा प्रचण्डले अग्रसरता लिएपछि, अब शून्यबाट अनुसन्धान हुने, को को मुछिएलान् ?

समाचार टिप्पणी ।
शनिबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा उपलब्ध प्रमुख नेताहरुसहित सचिवालयको आकस्मिक बैठक बोलायो । बैठकको विषय थियो– निर्मला हत्याकाण्डपछि सिर्जना भएको परिस्थिति ।

बैठकमा कञ्चनपुर घटनाका हरेक पक्षका बारेमा चर्चा भए । र, बैठकले घटनाको आशंकाको दायरामा रहेका सबैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने निश्कर्ष निकाल्यो ।
यसका पछाडि अध्यक्ष प्रचण्डले खेलेको भूमिका प्रमुख थियो ।

शुक्रबार साँझ ७ बजे प्रचण्ड निवासमा निर्मला हत्याकाण्डकै बारेमा छलफल भएको थियो । सात नम्बर प्रदेशका पूर्व माओवादी केन्द्रका इन्चार्ज लेखराज भट्टसहित कञ्चनपुर जिल्लाका सांसद तथा नेताहरुको उपस्थिति थियो छलफलमा ।

उता कञ्चनपुरमा गोली लागेर एकजनाको मृत्यु भएको समाचार आइरहेको थियो ।

उता कञ्चनपुरमा गोली लागेर एकजनाको मृत्यु भएको समाचार आइरहेको थियो ।

छलफलमा प्रचण्डले घटनाबारे सुरुदेखिको विवरण सुनाउन नेता भट्टसँग आग्रह गरे ।

त्यसपछि छलफलमा सहभागी सबैले यसबारेमा आ–आफ्ना धारणा राखे ।

निर्मला पन्त साथीको घरमा गएको देखि बम दिदी बहिनीहरुलाई अनुसन्धानमा सूत्रको रुपमा नलिइएको, प्रतिवेदन अविश्वसनीय रहेको, विरोधी तत्वहरुले आन्दोलनलाई सरकारविरोधी स्वरुप दिन खाजेको जस्ता कैयन पक्षमा चर्चा परिचर्चा भए ।

प्रचण्डले सबै कुरा सुने, सबै पक्षबाट विश्लेषणसहित आवश्यक जानकारी मागे ।

र, तत्कालै प्रधानमन्त्रीका स्वकीय सचिवलाई फोन गरे । प्रधानमन्त्री ओली क्याबिनेट बैठकमा रहेछन् ।

‘कञ्चनपुरमा स्थिति नियन्त्रणबाहिर छ ।’ प्रचण्डले फोनमा सबै स्थिति वर्णन गर्दै भने, ‘गृहले मात्रै यो अवस्था नियन्त्रण गर्न सक्दैन, प्रधानमन्त्रीलाई नै तत्काल सबै कुरा समीक्षा गरेर थप पहल गर्न मेरो सन्देश पु¥याइदिनु ।’ उनले भने ।

कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो ।

कञ्चनपुर घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने र सुरक्षास्थिति थप कडा गर्न प्रचण्डको जोड थियो ।

र, आज शनिबार बिहान प्रचण्डले यही कुरा राखे बैठकमा । प्रधानमन्त्री ओलीले तत्कालै सहमति जनाए । उनले जिल्लामा सुरक्षा व्यवस्था कमाण्डमा चल्न नसकेको र विगतमा सुरक्षा प्रशासनले नै घटनालाई संवेदनशील ढंगले अनुसन्धान नगरेकोले स्थिति बल्झिएको बताउँदै तत्काल अनुसन्धानलाई नयाँ ढंगबाट अघि बढाउन निर्देशन दिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै यसअघि अनुसन्धानको दायरामा नआएका बम दिदी बहिनीदेखि केही अन्यलाई प्रहरीले पक्राउ गरेको छ ।

गृहका उपसचित मैनालीले अब अनुसन्धान नयाँ शिराबाट शुरु हुने बताएका छन् । यसको अर्थ हो, अब शून्यबाट अनुसन्धान हुने छ । यद्यपी यो बीचमा कैयन् प्रमाणहरु नष्ट गरिएको हुनसक्ने अवस्था भने नभएको होइन । मैनालीका अनुसार, अब विगतमा चार्ज लिएका अनुसन्धान अधिकृतहरुमाथि समेत अनुसन्धान हुन सक्छ ।

स्थानीय चर्चाका अनुसार, प्रहरी अधिकृतकै परिवारका व्यक्तिहरुमाथि आशंका गरिएको छ । यद्यपी यो कुराको कुनै आधिकारिक पुष्टि भने हुन सकेको छैन । तर बम दिदी बहिनीहरुका कैयन गतिविधि भने प्रत्यक्षरुपमा नै शंकाष्पद रहेको स्थानीय बताउँछन् ।

भट्ट नेताद्वयको अथक प्रयास
प्रचण्डदेखि गृहमन्त्रीसम्म कञ्चनपुर घटनामा संवेदनशील बनाउन अथक प्रयास खेले नेता लेखराज भट्ट र दीपक भट्टले । दीपक घटना घटेको कञ्चनपुर क्षेत्र नं. ३ बाट संघीय संसदका सांसद हुन । दुबै नेताले यसअघि गृह मन्त्रीसँग पटक पटक भेटेर कञ्चनपुर घटनामा उच्चस्तरीय छानबीन समितिको माग गर्दै आएका थिए ।

यद्यपी गृहले भने निकै ढिला गरी मात्रै यसअघिका सुरक्षा र प्रशासनलाई फेर्ने निर्णय ग¥यो । त्यो पनि बुधबार साँझ प्रचण्ड र ओलीबीच भएको छलफलपछि प्राप्त निर्देशनका आधारमा मात्रै । त्यसअघि घटनालगत्तै मन्त्री बीना मगरको नेतृत्वको टोलीले समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

अब के होला ?
पछिल्लो विकसित भएको घटनाक्रमले बलात्कारविरुद्ध राष्ट्रिय आन्दोलनको जन्म दिएको छ । बलात्कारविरुद्ध कडा कानुनको मागदेखि प्रहरी प्रशासनले बलात्कारीलाई नै संरक्षण गर्न सक्ने किसिमको माहौल यतिखेर बनेको छ ।

ठीक यही बेला बानेश्वर प्रहरी वृत्तले समेत बलात्कार भएको भन्दै उजुरी गर्न आएकी युवतीसँग प्रमाण ल्याउ भनेर कार्वाही ढिला गरेको खबर सार्वजनिक भएपछि गृह मन्त्रालय निशानामा पर्नु स्वभाविकै पनि हो ।

निर्मला हत्याको विषय अहिले पनि रहस्यमा नै छ । कञ्चनपुरका गल्ली गल्ली र चोक चोकमा आ आफ्नै किसिमका आँकलन छन् । तर कोही पनि अभियुक्त भनेर प्रस्तुत गरिएका दिलिप विष्टलाई हत्यारा मान्न तयार छैनन् ।

छानबीन टोलीले नयाँ ढंगले अनुसन्धान गर्ने भनेको अवस्थामा अनुसन्धान अलि व्यापक हुने अनुमान गर्न सकिन्छ । खासगरी निर्मला पन्त बम बहिनीहरुको घरमा गएको, सोही साँझ निर्मलाकी आमा बमको घरमा जाँदा रुखो व्यवहार प्रस्तुत गरिएको र घरभित्र हेर्न नदिएको जस्ता कतिपय बयानले घटना अब नयाँ कोणतर्फ मोडिएको देख्न सकिन्छ ।

तर कानुनी कारबाहीका लागि भने चर्चा या बयान भन्दा पनि ठोस प्रमाण आवश्यक पर्ने भएकोले नयाँ छानबीन टोलीले ती प्रमाणहरु जुटाउन सक्ला या नसक्ला त्यो भने भविष्यको गर्भमा छ ।

तर घटनाका सबै सूत्रहरुलाई कडाईपूर्वक सूक्ष्मरुपमा अनुसन्धान गर्न सकिए निर्मलाले न्याय पाउनेमा आशा गर्न सकिने ठाउँ भने नभएको होइन ।

कमेन्ट गर्नुहोस्