यी हुन कञ्चपुर सर्वपक्षीय बैठकका ४ निर्णय

भीमदत्तनगर, भदौ ९ । १३ वर्षिया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई छानविन र कारबाहीको माग गर्दै भएको विरोध प्रदर्शनमामा एकजनाको मृत्यु, दर्जनौं घाइते र स्थिति तनावग्रस्त भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकले चारवटा निर्णय गरेको छ ।

कञ्चनपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी, प्रर्दशनकारी र सरकारी अधिकारी सहित उच्चस्तरीय छानबिन समितिको बैठकले निर्मला पन्त हत्याकाण्डमा प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणा, उचित क्षतिपूर्ती, घाइतेहरुको निशुल्क उपचार, आन्दोलनमा दमन र तोडफोड छानविन गर्न समिति गठन सरकारलाई आग्रह गर्ने र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिलाई सहयोग गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायका निर्णय गरेको छ ।

सर्वदलीय बैठकले बलात्कार र हत्यापछि वास्तविक अपराधीलार्इ पक्राउ गर्न र घटनाबारे उचित छानविनकाे माग गर्दै भएका प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणार उचित क्षतिपूर्तिका लागि स्थानीय, प्रदेश र संघीय तीनवटा सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै उक्त बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार र शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठ्यारो नपर्ने गरी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने दोस्रो निर्णय गरिएको बैठक पछि दिउँसो ३ बजे आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

निर्मला पन्त हत्याकाण्ड पछि भएको आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा तोडफोड, सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा हुनगएको क्षतिको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि अलग्गै समिति गठन गर्न गृह मन्त्रालय संग अनुरोध गर्ने तेस्रो निर्णय गरिएको छ ।

यस्तै उक्त हत्याकाण्डको निष्पक्ष छानबिनका लागि सहज वातावरण बनाउन पीडित पक्ष, आन्दोलनरत पक्ष, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, प्रशासन र राजनीतिक दलसँग आबद्ध सबैले सहयोग गर्ने र अब उपरान्त थप विरोधका कार्यक्रम समेत बन्द गर्न सबैलाई अपिल गर्ने निर्णय गरिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताए ।

कमेन्ट गर्नुहोस्