Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

निर्मला हत्याः बम बहिनीहरुले ‘लास पनि त्यतै होला’ भनेर कसरी भन्न सके ?

महेन्द्रनगर, भदौ १० । गत साउन १० गते भीमदत्तनगरपालिकामा निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले एक महिनापछि नयाँ मोड लिएको छ ।

एक महिनापछि मन्त्रीपरिषदले घटनालाई गम्भीरतापूर्वक लिँदै सम्बोधन गरेको छ । बिडम्बना, मन्त्रीपरिषदको यो निर्णय एकजना युवकको बलिदानपछि सम्भव भएको छ ।

त्यसो त गृह मन्त्रालयले समयमा नै निर्मला हत्याकाण्डमा प्रहरीको उच्चस्तरीय अनुसन्धान टोली नपठाएको होइन । गृह मन्त्रालयमा खानेपानी मन्त्रीको नेतृत्वमा जनप्रतिनिधिको टोलीले ज्ञापन दिएपछि नै केन्द्रीय अनुसन्धान ब्यूराको टोली घटनास्थल पुगेको थियो । यसका साथै जिल्ला प्रहरीको आफ्नै अनुसन्धान समेत जारी थियो ।

स्थानीयजनताले प्रहरीले वास्तविक दोषीको खोजी गर्ने आशा राखेपनि २५ दिनपछि सार्वजनिक गरिएको अभियुक्तमाथि विश्वस्त हुने आधार नदेखिएपछि प्रहरीले वास्तविक हत्यारा लुकाउन खोजेको आरोप लाग्यो । यही विषयमा आन्दोलन चर्किएपछि थप एकजनाले ज्यान गुमाउनु पर्यो।

विश्वास र अविश्वास दुबै

जिल्ला प्रहरीले मानसिक अवस्था ठीक नभएको भनिएका दिलिप सिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि स्थानीय जनताले त्यो कुरा पत्याएनन् । यद्यपी तत्कालिन एसपीले हामीले खोजेको हत्यारा उही हो, तपाईहरुलाई विश्वास नभए तपाईहरु खोजेर ल्याउनुस् भन्ने तर्क समेत दिए ।

तर घटनाक्रमका कतिपय तथ्यहरु हेर्दा दिलिप नै दोषी हुन भन्ने कुरा पत्याउने आधार भने थिएनन । अर्कोतर्फ गम्भीर अपराधमा विशिष्ट भूमिका निर्वाह गरेर एउटा साख कमाएको केन्द्रीय अनुसन्धान विभागका अनुसन्धानकर्ता समेतले जिल्ला प्रहरीको रिपोर्टलाई समर्थन गरेपछि कञ्चनपुर बाहिरका व्यक्तिका लागि प्रहरीको रिपोर्ट सही नै होला भन्ने नलागेको पनि होइन । स्थानीयले भने घटनास्थलमा भेटिएका कण्डम, दिलिपको शर्टका टुक्रालगायतका विषयले समेत २५ दिनपछि दिलिपलाई नियोजितरुपमा फसाइएको भन्न थालेका थिए । यो अवस्थामा सिबिआई नै संलग्न अनुसन्धानलाई विश्वास गर्ने या घटनाको प्रकृति र अन्य तथ्यले देखाएको कुरालाई विश्वास गर्ने दोधारबीच एक महिना बितेको छ ।

र, यही बीच मन्त्री परिषदको बैठकले आशंकामा रहेका सबैलाई अनुसन्धानको घेरामा लिन र अनुन्धान फेरी शून्यबाट शुरु गर्ने निर्देशन दिएबाट यसअघिको प्रतिवेदन विश्वस्त नभएको पुष्टि भएको छ । यसले सिबिआईको भूमिकामाथि पनि प्रश्न उठनु स्वभाविकै हो । यद्यपी सिबिआईका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन । र, जिल्ला प्रहरीको प्रतिवेदनले पनि दिलिपले अपराध स्वीकार गरेको तर थप अनुसन्धान अझै जारी रहेको उल्लेख गरेको थियो । त्यसो हो भने सिबिआईको टोलीले प्राप्त गरेका तथ्यहरु या धारणा छ भने त्यो नयाँ अनुसन्धान टोलीका लागि लाभदायी हुन सक्छन ।

सहज छैन प्रमाण जुटाउन

गृह मन्त्रालयले एक महिनापछि नयाँ शिराबाट अनुसन्धान गर्न थालेको छ । यो नै प्रमाण जुटाउन सबैभन्दा जटिल विषय हो । किनभने अपराध घटेपछि समयसँगै प्रमाण नष्ट हुने र गरिने सम्भावना हुन्छ । निर्मला हत्याको विषयमा घटनास्थलका प्रमाणहरु जे जति सुरक्षित गरिएका छन, त्यो बाहेक फेरी घटनास्थलमा केही भेटिने सम्भावना छैन । जबकि यसअघिका प्राप्त भएका र सुरक्षित भएका प्रमाणका आधारमा प्रहरीले दिलिपसिंहलाई दोषी देखाएको छ । यो अवस्थामा बस्तुगत थप नयाँ प्रमाण जुटाउन नयाँ अनुसन्धान टोलीलाई अप्ठ्यारो पर्ने अवस्था देखिएको छ ।

हत्याको अर्को प्रमुख सूत्र निर्मला अन्तिम पटक पुगेको रोशनी बमको घर हो । मिडियामा प्रकाशित समाचार अनुसार, रोशनी बमको घरबाट निर्मला फर्केपछि साँझपख निर्मलाकी आमा रोशनीको घरमा पुगेको तर घरभित्र हेर्न नदिएको भनाई छ । कतिपयले रोशनी बम र उनका दिदीहरुकहाँ युवकहरु आउजाउ गर्ने पनि बताएका छन् । केहीले रोशनीले अम्बा टिपेको रुख काटिएको र घरभित्र पनि रङ्गरोगन गरिएको भन्ने छ । यो कुरा हल्ला मात्र हो या साँचो हो भन्न सकिन्न । साँचो नै हो भने झट्ट हेर्दा यसले शंका उत्पन्न गरेपनि मुद्दा नै चलाउन र अभियुक्त नै साबित गर्न यी प्रमाण मात्र पर्याप्त छैनन् । यी तथ्यहरुलाई बिभिन्न पक्षको बयानले पुष्टि गर्न सकेमा या थप आधार प्राप्त भएमा मात्रै यिनीहरु अर्थपूर्ण हुन सक्छन् ।

बम दिदी बहिनीको बयान महत्वपूर्ण

अहिले बम दिदी बहिनीहरु हिरासतमा छन् । उनीहरुले अनुसन्धानलाई सघाऊ पुग्ने बयान दिएको खण्डमा मात्रै यो हत्याकाण्डमा थप पर्दा उठन सक्छन् । उनीहरुले निर्मलाको आमासँग ‘तिम्री छोरी कतै होली, हेर या साइकल त्यहाँ छ, त्यसकै वरिपरी होली” भनेर भनेको कुरा साँचो हो भने त्यसको लिडमा उनीहरुले थप केही जानकारी दिए अनुसन्धान अघि बढन सक्छ । निर्मला र रोशनीको सम्बन्ध कस्तो थियो, कहिलेदेखि थियो ? उठबस कस्तो थियो लगायतका पूर्व पक्षहरुको अनुसन्धान गरेपछि बम दिदी बहिनीहरुलाई झूठो साँचो बोलेको पत्ता लगाउने पोलिग्राफिक टेस्टको सामना गर्नुपर्ने हुन्छ । यो जाँचबाट उनीहरुले बोलेका कुरा साँचो या झूठो भन्ने एकहदसम्म थाहा हुन सक्छ ।

सबैभन्दा ठूलो कुरा प्रहरीले यसअघि अनुसन्धान नगरेका या गर्न नचाहेका पक्षहरुमा ध्यान केन्द्रीत गर्नु जरुरी छ । बम बहिनीहरुले साइकल त्यतै छ भने लास पनि त्यही वरिपरि होला भनेर कसरी भन्न सके ? उनीहरुलाई निर्मलाको हत्या भएको कसरी थाहा भयो ? यो कुरामा प्रहरीले किन ध्यान दिएन ? अर्को कुरा, बम बहिनीहरुले अम्बाको रुख काटेको र कोठामा रङपोतन गरेको कुरा आएको छ । यो सत्य हो भने यो तथ्यलाई पक्रेर किन उनीहरुसँग यसबारेमा यसअघि सोधपुछ भएन ? तेश्रो कुरा घटनास्थलमा अचानक कण्डम र अन्य कुरा भेटिनु र निर्मलाका पुस्तकहरु भिजेको अवस्थामा नभेटिएको कुरालाई अनुसन्धानले छोडेको छ । यी कुरा बम बहिनीहरुमाथि अनुसन्धानबाट मात्रै थाहा हुन सक्छन् ।

तर बम दिदी बहिनीहरुबाट केही पत्ता लाग्न नसकेको अवस्थामा र दिलिप सिंहले समेत अदालतमा बयान फेरेको खण्डमा निर्मला हत्याकाण्ड फेरी रहस्यको पर्दामा नै रहने सम्भावना पनि नभएको होइन । किनभने यदि दिलिप नै दोषी हुन भन्ने कुरा मान्ने हो भने पनि दिलिपको शर्टको टुक्रा घटनास्थलमा भेटिनु मात्रै उनी अभियुक्त हुने पूर्ण प्रमाण अदालत नमान्न पनि सक्छ ।

गहन अनुसन्धान जरुरी

घटना जटिल र एक महिनापछि यो निकै जेलिएको कारण अनुन्धान टोलीले निकै गहन र सूक्ष्म ढंगले अनुसन्धान गर्नु जरुरी छ । घटनाको दिन र त्यसपछिका घटनामा मात्रै केन्द्रीत नभएर अनुसन्धानको दायरा फराकिलो पार्दै अनुसन्धान टोलीले निर्मला पढने स्कूल, उनका सबै सहपाठी, रोशनी, बबिता र उनका साथीभाईहरु, उनीहरु सबैको व्यवहार, रोशनी र बबिता के कसरी साथी भए र उनीहरुबीचको विगतका उठबस, विगतदेखि वर्तमानसम्मका यो वा त्यो घटना र प्रसंगहरुलाई एक अर्कामा जोडेर सूत्रहरु खोज्नेसम्मको अनुन्धान व्यापक पार्न सके निर्मला हत्याका विषयमा सत्यतथ्य सार्वजनिक हुन सक्ला भन्न सकिन्छ ।

अपराध घटिसकेपछि कतिपय अवस्थामा आमरुपमा स्थापित र सत्य मानिएको कुरा झूठो हुन सक्छ र पत्याउन नसकिने सत्य नै वास्तविक सत्य हुन सक्ने सम्भावना पनि हुन्छ । यो कतिपय घटनामा देखिएको पनि छ । तर, जे जस्तो भएपनि पर्याप्त प्रमाणका आधारमा आमरुपमा मानिएको कुरा खण्डन गर्न सक्ने नयाँ तथ्य पत्ता लाग्न सक्नुपर्दछ । यो सबैभन्दा ठूलो चुनौती पनि हो ।

निर्मला हत्याका विषयमा नयाँ अनुसन्धान टोलीलाई स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी प्रशासनबाट पूर्ण सहयोग आवश्यक छ । घटनालाई अतिरञ्जित पारेर धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले अनुसन्धानलाई बाधा पु¥याउने र वास्तविक तथ्यहरु हराउने या नष्ट हुने सम्भावना बढी हुन्छ । स्थानीयस्तरमा पूर्ण सहयोगको वातावरण बनाउने र अनुसन्धान टोलीले सूक्ष्म ढंगले धैर्यताका साथ अनुसन्धानलाई बिस्तृत तवरले सबै सम्भावनालाई ध्यानमा राखेर अघि बढाउन सके निर्मलाले न्याय पाउने सम्भावना सकिएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: