Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षण अस्पताल पुगेर मन्त्री बीनाले भेटिन कञ्चनपुर घटनाका घाइतेलाई

काठमाडौं, भदौ ११ । खानेपानी मन्त्री बीना मगरले कञ्चनपुर घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिनु भएको छ ।

आज दिउँसो त्रिभुवन शिक्षण अस्पताल पुगेर मन्त्री मगरले कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रहरीको गोली लागि घाइते भएका बिरामीलाई भेटनु भएको हो ।

प्रदर्शनका क्रममा गोली लागेर शिक्षण अस्पतालको हाड जोर्नी कक्षमा भर्ना भएका उमेश देउवा र खुट्टामा गोली लागेका अर्जुन भण्डारालाई मनमोहन कार्डियाक केन्द्रको आइसियूमा राखिएको छ ।

भेटका क्रममा मन्त्री मगरले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कमी आउन नदिन चिकित्सकहरुलाई अनुरोध गरेकी थिइन ।

घाइतेका आफन्तहरुले मन्त्री मगरसँग घाइतेहरुको खर्च नेपाल सरकारले ब्यहोर्ने निर्णय भएपनि उपचारका क्रममा हुने आकस्मिक तथा कुरुवा खर्च नभएका कारण समस्यामा परेको बताएका थिए । आफन्तहरुले उपचार खर्च वापतको रुपमा पछि मात्रै पाइने भएकोले तत्कालको समस्या टार्न गृह मन्त्रालयबाट राहत खर्च रकम उपलब्ध गराइदिन मन्त्री मगरसँग अनुरोध गरेका थिए ।

प्रदर्शनमा अनपेक्षितरुपमा गोली प्रहार हुनु दुखद कुरा भएको बताउँदै मन्त्री मगरले अस्पताल भर्ना भएका बिरामीको उपचारमा कुनै कमी नहुने र आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । “घाइतेहरुको अवस्थामा सुधार आइरहेको डाक्टरले बताएका छन् ।” मन्त्री बीनाले आफन्तहरुसँग भनिन, “घाइतेहरुको स्वास्थ्यलाभको कामनाका साथै उपचारका क्रममा आवश्यक पर्ने सहयोग गर्ने छु ।”

कञ्चनपुर घटनामा गोली लागेका तीन जना प्रदर्शनकारी शिक्षण अस्पताल भर्ना भएका थिए । ती मध्ये टाउकोको माथिल्लो भागमा गोली लागेका एक युवा डिस्चार्ज भएका छन् ।

निर्मला पन्त हत्या घटनामा प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनको बिरोधमा कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगर बजारमा भएको प्रदर्शनमा गोली लागेर एकजना बालकको मृत्यु भएको थियो भने आधा दर्जन बढी घाइते भएको थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: