निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ, भदौ ११ । इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा मंगलबार गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीब २०० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले शिविरको उद्घाटन गर्दै स्थानीय बासिन्दालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त सामाजिक कार्यबाट धेरै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

स्थानीय पवन प्रकृति इङ्ग्लिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक उत्तरकुमार राईले स्वास्थ्य शिविरले विद्यार्थीलाई र वरपरका स्थानीय बासिन्दालाई फाइदा पुगेको बताउँदै आगामी दिनमा पनि शिविर निरन्तर हुनुपर्नेमा जोड दिए ।

आयोजक स्वस्तिक टोल विकासका निर्वतमान अध्यक्ष लोकेन्द्र कार्कीले स्थानीय बासिन्दाको आर्थिक सशक्तीकरण तथा सामाजिक विकासका कार्यमा संस्था क्रियाशील रहेको जानकारी गराए । रासस

कमेन्ट गर्नुहोस्