Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यो रमाइलो हाँस्य चुट्किलाः भ्यालेन्टाइन डे कि भाले टाइम डे ?

आफू त कुखुराको जात परियो । त्यसमा पनि भाले । चारै बजे बास्नुपर्ने । बासियो । डाको छोडेर बासेकोले होला वरपरका चल्ला पनि चिउँचिउँ कराउन थाले । फेरि छपक्क लागे । एका कुनामा पोथी ओथारो बसेकी थिई । घरीघरी लामो स्वरले क्वाँक्वाँ गर्थी । म सुनिराथेँ ।

मैले फेरि पखेटा भ्याटभ्याट गर्दै टोलै थर्किने गरी ‘कुखुरी काँ…..’ गरेँ । ओथारे पोथी कोरकोराइन । पहिलेको चल्ला र अहिलेको अण्डामै उसको ध्यान देखेँ । खोरबाट बाहिर निस्किएँ । रिमरिम हटेर छ्याङ्ग उज्यालो भैसकेको रछ । घरको धुरीमा चढेर यसो तल्लो गाउँमा हेरेको त थुप्रै पोहोराहरू कोरकोराउँदै चर्दै र चर्दै कोरकोराउँदै गरिरहेका थिए । अनि, मलाई पनि ‘के खोज्छस् कानो आँखो’ भनेझैँ भयो ।

धुरीबाटै वेग हानेर स्वात्तै बेसी गाउँतिर झरेँ । बेसी गाउँ रमालो छ भन्ने मलाई पहिला नै थाहा थियो । त्यसमा पनि आज त झनै रमाइलो रहेछ ।

मेरा साथीहरू कौडे भाले र गिरिराज भाले पनि तिनै पोहोराको हूलमा चरिरहेका थिए । म पनि उनीहरूसँगै मिसिएर चर्न थालेँ । चर्दाचर्दै ती पोहोरा पोथीहरू पनि त्यहीँ आइपुगे । उनीहरूको हूल पनि सानोतिनो थिएन ।

म चैँ लेक गाउँको भएकोले होला–रातो वर्णको थिएँ । मेरा सिउर र छरी उस्तै चिटिक्क थिए । पोहोराहरू झन ओर झन ओर गर्दै चर्न थाले । म लाजले हटेहटे जस्तो गर्न थालेँ ।

बगालमध्यकी राम्री पोहोराले भन्न थाली ‘किन लजाको ? आज त ‘भाले टाइम डे’ हैन त !’

मैले सोधेँ ‘के हो यो ‘भाले टाइम डे’ भनेको ?’

उसले भनी ‘छिः यत्ति जाबो पनि नबुझ्ने, तिमी त के खालको भाले हौ ? भाले चैँ हुने ‘भाले टाइम डे’ चैँ नबुझ्ने, लाटा !’

मैले कुरो बुझेँ । अनि….!

त्यसपछि त्यहाँ बसिराख्नु उपयुक्त होलाजस्तो लागेन । अघि झर्दा त वेग हानेर झरेको थिएँ तर अहिले चाहिँ लुरुलुरु परेर घरतिर फर्किएँ ।

घरमा आइपुग्दा त घरका मालिक कान्छा मुखिया ‘भाले हरायो’ भनेर राँक्किएर बसेका रैछन्– कान्छी मुखिनी माथि । मलाई देख्नेवित्तिकै कड्किए– तेरीमा गोट्टी एका बिहानै कहाँ मर्न गाको थिस्, हँ ? मैले केही उत्तरा पत्तरा गर्न सकिनँ । लुते सिउर लाएर उभिमात्र रहेँ । कान्छा मुखियाले मेरा दुवै खुट्टा च्याप्प समाते । उँधिमुन्टी लाउँदै कोर्मेमा लगेर थुनिदिए ।

कोर्मे बाहिर उनी गर्जिँदै थिए, ‘यसले आज मलाई ढिलो गरायो, बेसीतिर भ्यालेन्टाइन डे मनाउँन जाम्ला भन्दै थिएँ….।’

कोर्मेभित्र थुनिनु परे पनि मैले मनमनै अन्दाजी लगाएँ– ‘हाम्रो ‘भाले टाइम डे’ भनेको यिनीहरूको चैँ ‘भ्यालेन्टाइम डे’ रहेछ ।

यो कान्छो मुखिया पनि मै झैँ नकचरा छन् । बेसी झरेर मनाउन् कि लेक चढेर मनाउन् मलाई मतलव छैन तर कान्छा मुखियाले हाम्रो भाले टाइम डेलाई देखाशेखी गरेर भ्यालेन्टाइन डे चैँ पक्कै मनाउने भए । खै भ्यालेन्टाइन डे हो कि भाले टाइम डे हो !’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: